प्रधानमन्त्री ओलीलाई मार्ने धम्की!

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ जेठ ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका छन्। आजको प्रदेशसभा बैठकमा उनले भने, “प्रधानमन्त्री ओली आफ्नो सत्ता बचाउन लिप्त देखिन्छन्। उनी आफ्नो सत्ता बचाउन जुन कुरामा पनि सम्झौता गरिरहेका छन्।

हामीले ओलीको हातमा यसरी देश छोड्ने हो भने देशै खाइदिन्छन्। त्यसैले यो देश बचाउन नाथुराराम गोड्से आवश्यक पर्याे, यदि कोही बन्दैनन् भने मै बन्दिन्छु।

प्रचण्डलाई फाइदै फाइदा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता राजनीतिमा निर्णायक शक्ति नभएको साँढे ३ वर्ष भइसकेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डकै मुख्य भूमिका थियो । तर, त्यसपछिको साँढे ३ वर्ष प्रचण्ड निरन्तर कमजोर बन्दै गए ।

प्रचण्डले सुरुमा आफू पक्षीय नेताहरुलाई शक्तिशाली मन्त्रालय दिलाउन सफल भए । तर, ती नेताहरुले नै उनको साथ छाडे ।

२३ फागुन २०७७ को सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्ड केही समय कमजोर भए । उनी खेमाका मन्त्रीहरु ओली सरकारबाट हटाई । बादल र लेखराज भट्टले माओवादी त्यागेर एमालेमा जोडिन पुगे । प्रतिनिधि सभाका ४ प्रत्यक्ष निर्वाचित सांसद नै दल त्याग गरेर गए ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी नेतृत्वको सरकार धरमरायो । तर, प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवा, एमालेका माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका उपेन्द्र यादवसँग गठबन्धन बनाउन सके । गठबन्धन उनका लागि फाइदाजनक भयो ।