विदेशबाट फर्केका ७८२ जनाले लिए सहुलियत ऋण, यस्ता कागजपत्र बुझाउनुपर्छ

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

विदेशमा सिकेको सीप, अनुभव तथा केही गर्छुँ भन्ने सोचका साथ व्यवसाय गर्न चाहने युवाहरुलाई लक्षित गरी वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजना कर्जा ल्याएको छ । जस मार्फत १० लाख रुपैया सम्म सहुलियत ऋण पाइन्छ ।

५ प्रतिशत व्याजमा पाइने यो ऋणका लागि आवश्यक कागजात पेश गर्नुपर्नेछ । वैदेशिक रोजगरीवाट फर्किएकाहरुलाई यो योजना लक्षित छ । नेपाल राष्ट्र बैंकको तथ्याँकअनुसार यो व्यवस्था लागू भएदेखि २०७८ को जेठ महिनासम्म ७ सय ८२ जनाले यस कर्जाको लाभ उठाएका छन् । अहिलेसम्म ६५ करोड २५ लाख रुपैयाँ कर्जा स्वीकृत भएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।

कार्यविधिमा व्यवस्था भएअनुसार श्रम स्वीकृति प्राप्त गरि वा नगरि कुनै पनि देशमा कम्तीमा ६ महिना काम गरि नेपाल फर्केकाहरुलाई यो कर्जा दिइन्छ । उनीहरुले व्यक्तिगत या सामूहिक रुपमा यो कर्जाको लागि बैंकमा आवेदन दिन पाउँछन् ।

कर्जा लिनको लागि उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव पेश गर्नुपर्ने हुन्छ । यसरी माग गरिएको कर्जामा सम्बन्धित व्यक्तिले उल्लेख गरेको कर्जाको उद्येश्य, जोखिम, माग रकम लगायत परियोजनाको सम्भाव्यता हेरेर तथा कर्जाको सदुपयोग हुने आधारमा बैंक तथा वित्तीय संस्थाले ऋण प्रदान गर्नुपर्ने व्यवस्था छ । कुनै कारणबस कर्जा प्रवाह गर्न सक्ने अवस्था नभएमा स्पष्ट आधार र कारणसहित सम्बन्धित निवेदकलाई लिखित जानकारी दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

यसरी प्राप्त गर्ने ऋणको लागि ब्याज अनुदान अवधि बढीमा पाँच वर्ष तोकिएको छ । तर व्यवसायको प्रकृति हेरेर बैंक तथा वित्तीय संस्थाले त्यही अनुसार ब्याज अनुदानको अवधि तोक्न सक्ने कार्यविधिमा उल्लेख छ । त्यो अवधिभित्र ऋण तिरिसक्नुपर्ने हुन्छ । यस्तै व्यवसायको प्रकृति तथा प्रतिफलको अवधिको आधारमा किस्ता भुक्तानी अवधि निर्धारण गर्न सक्ने व्यवस्था पनि छ ।

कार्यविधिका अनुसार बैंकहरुले आफ्नो कारोबारको निश्चित प्रतिशत वा निश्चित संख्यामा यस्तो ग्राहक पुर्याउने लक्ष नेपाल राष्ट्र बैंकले तोकेर त्यसको अनुगमन गर्नुपर्ने हुन्छ ।

यस कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गर्ने कर्जा लिनको लागि राहदानी ९पासपोर्ट०, प्रवेशाज्ञा ९भिसा० तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्छ । यस्तै श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि । विदेशमा कम्तीमा ६ महिना काम गरेको भन्ने देखाउने कुनै प्रमाण पनि आवश्यक पर्छ । यस्तै आफू कुनै पनि देशको स्थायी स्थायी बसोबासको स्वीकृति प्राप्त व्यक्ति नभएको स्व घोषणा गर्नुपर्छ ।

यसको अतिरिक्त सम्बन्धित बैंक तथा वित्तीय संस्थाको विधिवत् रुपमा भरिएको कर्जा आवेदन फारम, प्रचलित कानुन बमोजिम दर्ता भएको व्यवसाय तथा स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुन्छ । यस्तै आफू कर्जा सूचना केन्द्रको कालो सूचीमा नपरेको स्वघोषणा गर्नुपर्छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]