ओलीका मन्त्री : रातो पासपोर्ट बेच्नेदेखि प्रदेश सांसदबाट निकालिएकासम्म

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ जेठ ।

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिनको बीचमा दुई पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। गत शुक्रबार १३ जना मन्त्रीलाई पदमुक्त गरी नयाँ १२ जनालाई मन्त्री बनाएका ओलीले बिहीबार थप ८ जनालाई मन्त्री पदमा नियुक्त गरेका छन्।

थपिएका केही मन्त्री विवादमा तानिएका मात्रै छैनन्, गम्भीर आरोप लागेका समेत छन्। कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरी मानव तस्करी गरेको अभियोग लागेका, प्रदेश सांसद्बाट निकालिएका र राजनीतिमा त्यति सक्रिय नभएका व्यक्तिलाई पनि ओलीले मन्त्रीमा नियुक्त गरेका हुन्।

६ दिनअघि मन्त्रिपरिषद् विस्तार गर्दा ओलीले उपमेयरमा पराजित ब्यक्तिदेखि विभिन्न काण्डका कारण विवादमा तानिएका व्यक्तिलाई मन्त्री बनाएका थिए।

बिहीबार थपिएका केही नयाँ मन्त्रीकाे यस्ताे छ विगत :

नारदमुनि राना

वन तथा वातावरणमन्त्रीको जिम्मेवारी पाएका राना कूटनीतिक राहदानी दुरुपयोग गरी मानव तस्करी गरेको गम्भीर अभियोग लागेका व्यक्ति हुन्। उनीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। मुद्दा सर्वोच्चमा पेसी चढ्ने र विवरण मगाउने आदेश हुँदै आएको छ। अन्तिम सुनुवाइका लागि योग्य भएको यो मुद्दा कोरोना महामारीका कारण देशभर लकडाउन भएपछि अघिल्लो वर्ष पेसीमा चढ्न सकेको छैन। उनीविरुद्ध राहदानी ऐनअुनसार सरकारी वकिलले मुद्दा दायर गरेका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले विशेष अदालत हुँदै सर्वोच्च पुर्‍याएको यो मुद्दा ५ वर्षदेखि विचाराधीन छ।

उनको रातो पासपोर्टमा फोटो परिवर्तन गरी म्याग्दीका निर्मल बानियाँ ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया उडेका थिए। आर्थिक लाभ लिएर उनले आफ्नो रातो पासपोर्टमा मानव तस्करी गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो। रातो पासपोर्ट दुरुपयोग गरी मानव तस्करीमा सघाएको आरोपमा उनलाई २० असार ०६८ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

रानाले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा (देउवा) लाई पराजित गरेका थिए। उनी कैलाली क्षेत्र नम्बर ५ बाट विजयी भएका हुन्।

ज्वालाकुमारी साह

माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेकी ज्वाालाकुमारी साहलाई प्रधानमन्त्री ओलीले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन्। तीन महिनाअघिसम्म प्रदेश सांसद रहेकी उनी बिहीबार एकाएक संघीय सरकारको मन्त्री बनेकी छिन्। माओवादी छाडेपछि उनलाई पार्टीले कारबाही गर्दै प्रदेश सांसदबाट निकालेको थियो। यसअघि माओवादी केन्द्रको केन्द्रीय सदस्य पदको जिम्मेवारी बहन गरिसकेकी साह बाराको क्षेत्र नम्बर ३ को (क) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी थिइन्।

प्रभु शाह निकट रहेकी उनले एमालेको प्रदेश २ अध्यक्ष हुँदै कृषिमन्त्रीको जिम्मेवारी पाएकी छिन्। सर्वोच्च अदालतले माओवादी केन्द्र छाडेका प्रभु शाहसहित सात जनालाई सांसद नरहेका ब्यक्ति पटकपटक मन्त्री बन्न नपाउने भन्दै पदमुक्त गरेको थियो। प्रभु शाहलाई मन्त्री बनाउन नमिलेपछि ओलीले उनी निकट ज्वालालाई मन्त्री बनाएका हुन्।

नैनाकला थापा

राजनीतिमा खासै सक्रिय नभएकी पूर्वमाओवादी नेता नैनाकला थापालाई प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी दिएका छन्। नैनकला पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी हुन्। माओवादी युद्धमा हुँदा महिला संघकी अध्यक्ष भएकी थापा २०६४ सालमा महिला आयोगको प्रमुख बनेकी थिइन्। त्यसपछि उनी राजनीतिमा सक्रिय छैनन्।

सर्वोच्च अदालतले बादलको पद खोसिदिएपछि प्रधानमन्त्री ओलीले उनलाई सान्त्वना दिन राजनीतिमा सक्रिय नै नभएकी उनकी पत्नीलाई मन्त्रीको जिम्मेवारी सुम्पिएका हुन्। बादलले पद खुस्किएको १६ दिनसम्म पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका थिएनन्। यी तीनबाहेक ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिएका छन भने खगराज अधिकारीलाई गृहमन्त्रीको जिम्मेवारी दिएका छन्।

राजकिशोर यादवले उद्योग र गणेश पहाडीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै आशा विक वन राज्यमन्त्रीमा नियुक्त भएकी छन्। यसअघि गत शुक्रबार (जेठ २१ गते) मन्त्रिपरिषद् पुर्नगठन हुँदा थपिएका मन्त्रीहरु पनि केही विवादित थिए। राजेन्द्र महत्तो, रघूविर महासेठ, शेरबहादुर तामाङलगायतका मन्त्री विवादमा तानिएका पात्र हुन् । धिरज बस्नेत/नेपालसमय बाट

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]