‘ल्याङल्याङ अति भयो ! एमालेको एकता देउवाको कांग्रेससँग होला, माधव नेपालसँग हुँदैन’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपालको सर्त स्वीकारेर एमाले एकता नहुने बताएका छन्।

नेकपा एमालेका केन्द्रीय समिति सदस्य पनि रहेका थापाले माधवकुमार नेपालले राखेका सर्तमा बरु देउवाकाे नेपाली कांग्रेससँग एकता होला तर उनीहरुसँग नहुने स्पष्ट पारेका छन्। उनले अति नै ल्याङल्याङ भएको भन्दै अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं तर असम्भव कोसिस छोडौं भनेका छन्।

‘अब जेठ २ को रटानको अध्याय सकिएको छ। माधव कुमार नेपालका शर्त स्वीकारेर त एकता हुँदैन,’ थापाले ट्विटरमा लेखेका छन्, ‘यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको काँग्रेससँग बरू एकता होला।’

नेता थापाले तेल निस्काल्न बालुवा होइन, तोरी पेल्नुपर्ने जानकारी दिँदै अब नयाँ निर्णय गरेर अघि बढ्नुपर्ने संकेत गरेका छन्। ‘तेल निस्काल्न बालुवा होइन, तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिस छोडौं,’ उनले थपेका छन्।