‘प्रधानमन्त्री ओली पदमुक्त, देउवालाई प्रधानमन्त्रीको सपथ खुवाउनु पर्छ’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ जेठ ।

प्रतिनिधि सभा विघटनविरुद्ध र संविधानको धारा ७६(५)अनुसार सरकार गठन सन्दर्भमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

संवैधानिक इजलास गठन सम्बन्धमा प्रश्न उठाइएपछि सुरु नभएको सुनुवाइ बुधबारबाट प्रारम्भ भएको हो । बुधबार प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक शेरबहादुर देउवा पक्षकाबाट बहस भएको छ ।

बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएको र शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथ खुवाउनका लागि अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।

‘३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा छ । विश्वासको मत पाउन सक्दिन भनिसकेकोले केपी ओलीजी पदमुक्त भइसक्नुभयो’, थापाले भने ।

संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली स्वतः पदमुक्त भएको जिकिर गरेका उनले देउवालाई प्रधानमन्त्रीको सपथ खुवाउन बाटो खुला गर्न अन्तरिम आदेश जारी गर्न माग गरेका हुन् ।