असार १ गतेदेखि आन्तरिक उडान शुरु गर्न वायुसेवा सञ्चालक संघको सरकार समक्ष आग्रह

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ जेठ ।

आउँदो असार १ गतेदेखि आन्तरिक हवाई उडान शुरु गर्न वायुसेवा सञ्चालक संघले सरकार समक्ष अनुरोध गरेको छ।

संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा पनि यात्राका लागि सुरक्षित मानिएको हवाई उडान शुरु गर्न सरकार समक्ष आग्रह गरेको छ ।

कोरोना महामारीको पहिलो लहरमा १८० दिन र दोस्रो लहरमा ४० दिनसम्मको हवाई उडान बन्दले यस क्षेत्रमा ठूलो असर पारेको भन्दै उडान शुरु गर्न आग्रह गरेको हो ।

संघले निषेधाज्ञाभर ल्यान्डिङ पार्किङ र अन्य शुल्कमा समेत ७५ प्रतिशतसम्म छुट गर्न समेत माग गरेको छ । साथै सरकारले हालै अन्तर्राष्ट्रिय हवाई उडानतर्फ इन्धनको मूल्य घटाएको भन्दै आन्तरिक हवाई उडानका लागि न्यून मुनाफा राखी इन्धनको मूल्य घटाउन समेत माग गरेको छ ।

यसले गर्दा सञ्चालन खर्च घट्ने र यात्रुहरुले पनि सस्तो सर्वसुलभ दरमा टिकट पाउने संघको भनाइ छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]