पैसा असुल्नकै लागि अनलाइन कक्षा लिने, परीक्षा किन नलिने ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

कुनै पनि मुलुकलाई ध्वस्त पार्न कुनै आणविक अस्त्र वा लामो दुरीसम्म प्रहार गर्ने क्षेप्यास्त्रको प्रयोग गर्नु आवश्यक छैन यसका लागि त्यो मुलुकको शैक्षिक स्तर ध्वस्त पारिदिए मात्रै पर्याप्त छ” पक्कै पनि अहिले विश्वव्यापीकरण फैलिरहेको कोरोना भाइरसले शैक्षिक क्षेत्रलाई ध्वस्त पारिरहेको छ।

लकडाउनले गर्दा शैक्षिक संस्थाहरू पूर्ण रूपमा बन्द छन् र सम्पूर्ण विद्यार्थीहरू घरभित्रै थुनिएर बस्न बाध्य भएका छन्। कुनै कुनै शैक्षिक संस्थाहरूले अनलाइन विधिबाट कक्षा संचालन गरेता पनि त्यो प्रभावकारी देखिएको छैन।कोरोना को पहिलो कहरबाट भर्खर उठ्न थालेको शैक्षिक गतिविधि दोस्रो र तेर्सो कोरोना लहरले उठ्नै नसकिने गरी तहसनहस पारिदिएको छ।

मुखै अगाडी आएको परीक्षा कोरोना को कारणले सर्दा हुने कि नहुने हो भन्दै विद्यार्थीहरूमा मानसिक तनाव हुन थालेको छ। कोरोनाको पहिलो लहरले १ वर्ष खेर गएको र फेरि पनि त्यसरी नै खेर जाने हो कि भनी विद्यार्थीहरू निराश भएका छन्।

अब आफ्नो भविष्य कतातिर जाने हो ? समयमै परीक्षा सञ्चालन हुने हो कि होइन ? अहिले पनि अघिल्लो सालको जस्तै १ वर्ष पछाडी धकेलिने हो कि भन्ने चिन्तामा विद्यार्थीहरू रहेका छन् । उनीहरूले उच्च पदाधिकारीहरू कस्तो निर्णय गर्छन् भनी कुरेर बसिरहेका छन्।

अब पनि परीक्षा र शिक्षासम्बन्धी विषयमा सम्बन्धित व्यक्तिहरूले निर्णय नगर्ने हो भने देशले धेरै घाटा व्यहोर्नु पर्ने देखिएको छ। अर्थतन्त्रमा भएको घाटा केही वर्षपछि आफ्नै ठाउँमा आउँला तर शिक्षामा भएको घाटाले पूर्ण देशलाई नै दुर्घटनातिर लिन्छ। त्यसैले मेरो अनुरोध के छ भने हाम्रो सरकार त राजनीति गर्न र कुर्चीको खेलमा व्यस्त छ, अब शिक्षामा आबद्ध भएका उच्च स्तरका व्यक्तिहरूले आफैँ निर्णय लिनुपर्ने र सोच्नुपर्ने बेला भएको छ।

यति बेला विश्वकै शैक्षिक क्षेत्रले पनि अत्यन्तै विकराल र भयावह परिस्थितिको सामान गर्नु परिरहेको छ। नेपाल पनि त्यसबाट अछुतो छैन। आज विश्वभरका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरू बन्द रहेका छन्। अन्य मुलुकमा वैकल्पिक माध्यमहरूबाट पठनपाठन र परीक्षाहरू सुचारु भए।

विश्वका धेरै देशहरूले पनि यो कठिन समयमा आफ्ना विद्यार्थीहरूसँग शैक्षिक सम्पर्क कमजोर नहोस् भन्नका लागी भर्चुअल क्लास रुम, अनलाइन क्लासमार्फत अध्ययन अध्यापन, परीक्षा गराइरहेका छन्। किनकि विकसित चेत भएका प्रायः सबै देशहरूले जस्तोसुकै अप्ठ्यारोमा पनि शिक्षाको नियमिततालाई अत्यन्तै महत्त्व दिएका छन्। तर नेपालमा त्यो भने सम्भव भएको देखिँदैन। यस्तो बेलामा विद्यार्थीहरू लाई कसरी शैक्षिक क्रियाकलापहरूमा व्यस्त बनाइराख्ने भन्ने सन्दर्भमा विशेष ध्यान दिनु पर्ने हो तर विश्वविद्यालय र हाम्रा कलेजहरूले कानमा तेल हालेर बसिरहेका छन्।

हामी विद्यार्थीले गुहार माग्दै बोलेको न सरकारले सुन्छ न विश्वविद्यालयले सुन्छ न त त्यस्ता आङ्गिक एवं सम्बन्धन प्राप्त कलेजहरू सञ्चालन गरिरहेका उच्च व्यक्तित्वहरूले नै “मरेका मान्छे राखिने मुर्दा घर जसरी सुनसान देखिन्छन् विश्वविद्यालय अनि त्यसका आङ्गिक एवं सम्बन्धन प्राप्त कलेज र त्यहाँका सञ्चालकहरू। ”

काठमाडौँ विश्वविद्यालयले लकडाउन भएदेखि आन्तरिक परीक्षाको मूल्याङ्कन गरी नतिजा निकाल्ने र भर्चुअल क्लास रुम, अनलाइन क्लासमार्फत शैक्षिक क्यालेन्डरलाई कुनै असर नपर्ने गरेर नियमित कक्षाहरू सञ्चालन गरिरहेको छ र त्यो प्रभावकारी पनि देखिएको छ।

पूर्वाञ्चल र मध्य पश्चिमाञ्चल अनि सुदुरपश्चिमाञ्चल जस्ता अरू विश्वविद्यालयले पनि अनलाइन विधिबाटै कक्षा सञ्चालन गरेर परीक्षा पनि लगी सके र फेरि पनि अनलाइन विधिबाटै परीक्षा गराउने तयारीमा छन्।

के त्रिभुवन, र पोखरा जस्ता विश्व विद्यालयहरूले यस्तो गर्न सक्दैनन् र? विश्व बजारमा भर्चुअल क्लास रुम, अनलाइन क्लासमार्फत पढाइ र परीक्षा भइरहेको छ।

काठमाडौँ, पूर्वाञ्चल, मध्य पश्चिमाञ्चल, सुदूर पश्चिमाञ्चल र विदेशी विश्वविद्यालयहरूको अनलाइन विधिबाट लगिएका परीक्षाको सर्टिफिकेट विश्व बजारमा चल्ने र त्रिभुवन अनि पोखरा जस्ता विश्वविद्यालयहरूले त्यही विधिबाट परीक्षा गर्दा सर्टिफिकेटहरू नचल्ने पनि कहीँ कतै हुन्छ र ?

मूल्याङ्कन गर्नलाई अरू सेमेस्टर र वार्षिक परीक्षा हरू वाकी छँदै छन् के १ सेमेस्टर वा १ वार्षिक परीक्षा आन्तरिक मूल्याङ्कन बाटै रिजल्ट निकाल्दा पहाड खस्ने अनि जमिन नै भासिने हुन्छ र ? विश्वविद्यालय र कलेजहरू के पैसा असुल्ने भाडा मात्र हुन् र ? मुलुकमा आपतविपत आइपर्दा सोच्नु पर्ने बेला भएको छैन र? यदि यस्तो होइन भने हजुरहरूलाई परीक्षा गराउन के कुराले रोकेको छ? परीक्षा हुन्छ भने हुन्छ भन्दिनुस् हुन्न भने हुन्न भन्दिनु म जस्ता लाखौँ विद्यार्थीहरूको भविष्य अन्धकारमा पारेर हामीलाई यता न उताको नपारी दिनुहोस्।

४ वर्षमा सकिने कोर्स ५ वर्षमा सकिन्थ्यो अब यस्तै पारा हुने हो भने ६ /७ वर्षमा पनि सकिन गाह्रो हुन्छ। त्यसको असर हजुरहरूलाई पर्ने भए पो सोच्नु हुन्थ्यो होला । हजुरहरूलाई त मिटिङको रूपमा भत्ता पचाउन पाए भइहालो बिचरा निर्दोष विद्यार्थीहरूको भविष्य जस्तोसुकै होस् हजुर लाई त के मतलब।हजुर त त्यही अठारौँ शताब्दीको शिक्षा लगेर आउनुभएको मान्छे राम्रो कुरा कहाँ सुन्न सक्नु हुन्छ र ? त्यसको असर त हामीलाई पर्छ र हाम्रो साथै देशको भविष्य अन्धकारतिर धकेलिने बाटो नरोज्नुस्।

म पोखरा विश्वविद्यालयको विद्यार्थी हु । म आठौँ सेमेस्टर को परीक्षा दिनुपर्ने विद्यार्थी हु तर मेरो विडम्बना भनौँ की पोखरा विश्वविद्यालयको म हाल छैटाै सेमेस्टर को परीक्षा कुरेर बसेको विद्यार्थी हु ।

अब त मलाई नि पोखरा विश्वविद्यालयको विद्यार्थी हुँ भनेर भन्न हीनताबोध हुने अवस्था आइसक्यो। यो परिस्थितिमा कुनै पनि पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजले आफ्ना विद्यार्थीहरू के कस्तो हालतमा छन् भनेर खोजीनिती गरेका छैनन् । १-२ कलेजले अनलाइन कक्षा गरे तापनि तिनीहरूको आफ्नो स्वार्थको लागि मात्रै छ र सेमेस्टर शुल्क कसरी लिने भन्ने तिर ध्यान भई अनलाइन कक्षको बहाना गरेका मात्र छन्। यस्तो तरिका ले त अनलाइन कक्षाको बहानामा विद्यार्थीसँग पैसा लुट्न लाई मात्र गरेको जस्तो भान हुन्छ।

अब समस्त विद्यार्थीहरूको एउटै माग रोकिराखेका परीक्षाहरू चाँडोभन्दा चाँडो सञ्चालन गरियोस् । बन्दले गर्दा एक वर्ष त्यसै लस भइसक्यो अपबनी परीक्षा भएन भने विद्यार्थीको भविष्य अन्धकारमय हुनेछ।

यस्तो महामारीमा भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुन निकै गाह्रो हुन्छ र त्यो असम्भव पनि छ त्यसैले अब हामीले विकल्पका रूपमा अनलाइन परीक्षाको सहायता लिनुपर्ने हुन्छ।

पोखरा विश्वविद्यालयका उच्च पदाधिकारीहरूलाई यो कुरा सोध्न मन लागेको छ की पैसा असुल्नकै लागि भए पनि अनलाइन कक्षा लिने तर परीक्षा चैँ नलिने किन ? हजुरहरू क्वालिटीको कुरा गर्नु हुन्छ, कहिले सोच्नुभएको छ तपाईँका सम्बन्धन प्राप्त कलेजहरूमा के कसरी पढाई हुन्छ भनेर, हजुरहरू लाई राम्रोसँग थाहा छ हजुरहरू शिक्षा दिन हैन व्यापार व्यवसाय गर्न अनि पैसा कमाउन र उच्च राजनीतिक करणको बिम्ब देखाएर उच्च प्रतिष्ठानमा बस्न रुचाउनु भएको छ।

मलाई त शङ्का नै लाग्छ मास्टर्स ,एमफिल,पिएचडी, गरी लेक्चरर र प्रोफेसर भएका विद्धान वर्गहरू ले पनि परीक्षाका बारे निर्णय लिन नसक्नु दयनीय कुरा हो । कति हजुरहरूले सर्टिफिकेट किनेर राजनीतिक आडले गर्दा विश्वविद्यालय को गरिमामा जस्तो पदमा छिर्नु भएको हो ? २०७६ मा भर्ना भएका हरू ले ३ वर्ष एउटै कक्षामा पढ्नु पर्ने ? अनि अरूहरू को पनि २/२ सेमेस्टर खेर गइसकेको छ। तपाईँहरूको अठारौँ शताब्दीको दिमागले परीक्षा कसरी गराउने भन्ने आइडिया दिएन भने विद्यार्थीहरू सँग सोध्नुहोस् ।

तपाईँहरू क्वालिटी को कुरा गर्नुहुन्छ किन तपाईँहरू शिक्षा पद्धति नै परिवर्तन गर्न सक्ने कुरा गर्न सक्नु हुन्न ? सधैँ अठारौँ शताब्दीको जसरी पढाएर हुन्छ । प्राक्टिकल्ली सोच्ने बेला भएको छैन र किन हाम्रो कोर्ष थ्वरेतिकली मात्र पढाइ राख्नुभएको छ समय सान्दर्भिक हुनु पर्ने होइन र? समय सान्दर्भिक परिवर्तन हुनुपर्ने होइन र ?

के कसैले काठमाडौँ, पूर्वाञ्चल ,मध्य पश्चिमाञ्चल ,सुदूर पश्चिमाञ्चल र विदेशी विश्वविद्यालयहरूका विद्यार्थीहरूलाई अनलाइन विधिबाट परीक्षा दिएका हो भनेर विरोध गरेका छन्। कसैले जागिर दिनबाट इन्कार गरेका छन् र यदि छैनन् भने पोखरा विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय तिमीहरू अनलाइन विधिबाट परीक्षा लिन किन पछि हटी रहेका छौँ ।

के विश्वविद्यालय विद्यार्थीबाट मोटो शुल्क उठाउनको लागि मात्र हो? विद्यार्थीको हितमा कुरा कहिले हुन्छ? किन यसरी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै छ विश्वविद्यालय?अब विश्वविद्यालये पढाइ सकियो भन्ने बेलामा परीक्षा कहिले हुन्छ भन्दै बस्नुपर्ने स्थिति कहिले सम्म रहन्छ?

पोखरा विश्वविद्यालयजस्तो लाचार र गैर जिम्मेवार विश्वविद्यालय मैले आरु देखिन। कैले कोरोनाको बाहानमा पदाधिकारी छैनन् भन्दै कानमा तेल हालेर बस्छ त कैले D+ काण्डका कारण परीक्षा सारिनै रहन्छ। २०१६ मा भर्ना भएका विद्यार्थी २०२० सम्म निस्किनु पर्ने हो तर अझै परीक्षा भएको आस्था छैन।

पछिल्लो समयमा आएर बल्ल वैकल्पिक परीक्षाको कुरा उठेको छ। होइन यो काम पहिल्यै गरिदिएको भय के जान्थ्यो हजुर? कमसेकम विद्यार्थीहरुको १ बर्स खेर जाने त थिएन । २ कक्षाको बच्चालाइ सोधेको भएपनी हजुरहरु लाई वैकल्पिक परीक्षाको विधि भनिदिने थिए । अब एकाथरी आउँछन् नेट नै नभएको ठाउँमा के गर्ने भन्दै। अरे यार त्यो समस्याको समाधान आफै खोज्ने हो। त्यति समाधान नि खोज्न सकिन्न भने के पढ्छौ तिमी विश्वविद्यालयमा ।

विद्यार्थी नेता भन्दा भरौटे हुलाइ कसैले रोजिनामा दियो कि दिएन भन्ने कुरामा खुब चासो हुन्छ र आफ्नो स्वार्थ पूर्ति गर्न जुन सुकै हद सम्म गिर्न तयार हुन्छन् तर परीक्षाको लागि उनीहरूलाई कुनै मतलब नै छैन। नेतागिरी नै गरे नि भविष्यमा केही त पढेर र अरूको लागि पनि सोचेर गरे नि केही बिग्रिँदैन।

अनलाइन विधिबाट लिएका परीक्षाहरू गुणस्तर हीन हुन्छन् कसले भन्यो। कहिले तपाईँहरूले सोच्नुभएको छ। खोजीनिती गर्नु भएको छ। हामी धेरै टाढा पुग्नै पर्दैन छिमेकी राष्ट्र भारतको IIT विश्वविद्यालयले ले अनलाइन विधिबाट लगेको परीक्षा कस्तो छ भनेर एकचोटी हेरे पुग्छ उसको गुणस्तर कस्तो छ भनेर। उसको विश्वबजारमा आफ्नो छुट्टै गुणस्तर र योगदान रहेको छ । आइआइटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू कक्षा कोठामै गएर पढ्नु पर्दैन त्यो विश्वविद्यालयका विद्यार्थीहरूले कलेज देखेका पनि हुँदैनन् सबै अनलाइन बाट नै सञ्चालन भइराखेको छ । के त्यस्तो विधिहरू हामीले अपनाउन सक्दैनौ?

अब विद्यार्थी को १ वर्षको समय खेर गएको जिम्मेवार कसले लिन्छ? भन्न त कोरोना लाई दोष लगाउने होला तर ९५% जिम्मेवार विश्वविद्यालयको नै छ । यो तरिकाले हाम्रा विश्वविद्यालयको गुणस्तर कहाँ पुग्ला खै हजुरहरू आफै सोच्नुस् र भन्नुहुन्छ।

की त उपकुलपति, परीक्षा नियन्त्रक, रजिस्ट्रार, डिन सम्पूर्ण पदाधिकारीले भन्नू पर्‍यो अब यति कमिसन दिनु हुन्छ भने परीक्षा वैकल्पिक माध्यमबाट गराउँछौ भनी । होइन भने परीक्षा गराउन के-कस्तो कारणले रोकिराखेको छ विद्यार्थीहरूलाई स्पष्ट पारिदिनुस् यसरी अलमल्याएर नराखी दिनुहोस्।

इतिहास का विभिन्न कालखण्डमा राजनीतिक कारणले विद्यार्थीहरूको भविष्यमा नकारात्मक असर पारेको छ भन्ने कुराको जानकारी हुँदा पनि “जुन जोगी आए पनि कानै चिरेको” भने जस्तै हरेक पटक विद्यार्थीहरूलाई सिकार बनाइन्छ ।

विश्वविद्यालयले के कसरी हुन्छ परीक्षा लगेर एउटा राम्रो बाटो देखाई दिनु पर्‍यो। हाम्रो परिवारको सपना ठुलो छ हामीमाथि कृपया त्यो सपनाको अगाडि विश्वविद्यालय बाधक नबनोस्। राजनीतिक भागबन्डामा कति बिक्छौँ टाउकेहरू राजनीतिबाट फुर्सद मिल्यो भने विद्यार्थीहरू पनि विश्वविद्यालयमा पढ्छ भनेर ध्यानाकर्षण होस्।

“अर्थतन्त्र लगायत अन्य क्षेत्रहरूको ग्याप वा असरहरू त २/४ वर्षको मिहिनेतबाट रिकभर गर्न सकिएला। तर शिक्षा क्षेत्रमा पर्ने नकारात्मक असर वा प्रभावले विद्यार्थीहरूको मात्रै भविष्य बिग्रँदैन, यसले सिङ्गो समाज र राष्ट्रको समग्र संरचनालाई नै दीर्घकालसम्म चोट पुर्‍याइ रहन्छ। यसरी नै शिक्षण संस्थाहरू बन्द राखेर पठनपाठन ठप्प गर्ने अनलाइन विधिबाट पनि परीक्षा नलिने हो भने भने भविष्यमा शिक्षा क्षेत्र र मुलुकको विकासमा ठुलो क्षति हुने देखिन्छ । ”

तसर्थ भविष्यमा शिक्षा क्षेत्र र मुलुकको दिगो विकासमा भई परि आउने ठुलो दुर्घटनाबाट बच्न र बचाउनको लागि अहिले नै दीर्घकालीन उपायहरू अपनाएर बन्द भएका विद्यालय,कलेज र विश्वविद्यालयहरूको पठनपाठन र परीक्षा के कसरी अनलाइन विधिहरूबाट सुचारु गर्न सकिन्छ त्यता तिर ध्यान दिएर रोकिरहेका परीक्षाहरू चाँडोभन्दा चाँडो अनलाइन विधिबाट सुचारु गराई दिनु हुन विनम्र अनुरोध गर्दछु।

(जुम्ला घर भएका लेखक बाल गोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा, ललितपुरका ब्याच लर इन सिभिल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनी केटिएम दैनिकका नियमित स्तम्भकार हुन। उनले साहित्यिक र समसामयिक विषयमा कलम चलाउन रुचाउँछन्। )