मुख्यमन्त्री भट्टले पाए दुई तिहाइ विश्वासको मत, नेपाल पक्षका १७ सांसदले गरे मतदान

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २५ जेठ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । आज प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेपछि भट्टको सरकार जोगिएको छ ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै पर्‍यो । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले मतदानमा भाग लिएन ।

बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने सवालमा एमाले संसदीय दल विभाजित भएको थियो । माधव नेपाल पक्षले बहुमतका आधारमा सरकारको समर्थनमा मत हाल्ने निर्णय लिए पनि ओली पक्षका संसदले केन्द्रको निर्देशन अनुसार विपक्षमा भोट हालेका छन् ।