वैकल्पिक उडान सुरु गरी विदेशमा रोकिएका नेपाली कामदार फर्काउन दूतावासहरूको माग

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ जेठ ।

विभिन्न देशमा रहेका अन्तर्राष्ट्रिय नियोगहरूले विदेशमा रोकिएका नेपाली कामदार फर्काउन वैकल्पिक उडान सुरु गर्न माग गरेका छन् । कोरोना नियन्त्रण गर्न अन्तर्राष्ट्रिय उडान बन्द गरिँदा रोकिएकाहरूलाई फर्काउन वैकल्पिक उडान सुरु गर्नुपर्ने उनीहरूको माग छ ।

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि करार अवधि सकिएका, कोरोनाका कारण रोजगारी गुमाएका, अवैध रुपमा बसेर काम गरिरहेका र घरेलु महिला कामदारलाई फर्काउन वैकल्पिक उडान सुरु गर्नुपर्ने माग राजदूतहरूले राखेका छन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले डेढ महिनाअघि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । उडान बन्द हुँदा स्वदेश फर्कने तयारीमा रहेका करिब २० हजार नेपाली कामदार रोकिएको दूतावासहरूले जनाकारी दिएका छन् ।

उडान बन्द हुँदा खाडीका देश र मलेसियामा रोकिएका कामदारलाई समस्या पर्न थालेको दूतावासहरूले जानकारी दिएका छन् । कामदार फर्काउन वैकल्पिक उडान सुरु गर्नुपर्ने मलेसियाका लागि नेपाली राजदूत डा. उदयराज पाण्डेले बताए ।

मलेसियामा पनि कोरोनाको महामारी बढ्दै गएकाले रोकिएका कामदार छिटै फर्काउनुपर्ने अवस्था सिर्जना हुने थालेको राजदूत पाण्डेले बताए । ‘मलेसियामा ५ सयभन्दा धेरै टिकट लिएका कामदार रोकिएका छन् । यति–उति संख्या भन्ने छैन । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा धेरै कामदार रोकिएका छन्,’ उनले भने, ‘मलेसियामा रोकिएका कामदारलाई चाँडै फर्काउन सकिएन भने समस्या बढ्न सक्छ । दूतावासले यो विषयमा सरकारलाई जानकारी गराएको छ । चाँडै केही नयाँ निर्णय आउला ।’

त्यस्तै साउदीमा टिकट लिएका १ हजारभन्दा धेरै नेपाली कामदार रोकिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । अन्तर्राष्ट्रिय उडान बन्द हुने समय लम्बिँदै जाँदा समस्यामा पर्ने कामदारको संख्या बढ्दै जाने साउदीस्थित नेपाली राजदूत महेन्द्र प्रसाद सिंह राजपुतले बताए ।

सरकारलाई साउदीमा देखिएको समस्याका बारेमा जानकारी गराएको र कामदार फर्काउन चाँडै पहल हुने उनले बताए । ‘साउदीबाट सातामा एउटा अन्तर्राष्ट्रिय उडान गरे पनि रोकिएका कामदार फर्किन थाल्छन् । तत्काल सातामा दुई अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने आवश्यक देखिन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका कामदार चाँडै फर्काउन नसके अर्को समस्या सिर्जना हुनसक्छ । कामदारको समस्यालाई हेरेर तत्काल वैकल्पिक उडान सुरु गर्नुपर्छ ।’

साउदी, मलेसियामा जस्तै कतार र यूएईमा पनि धेरै नेपाली कामदार रोकिएको त्यहाँस्थित नेपाली दूतावासहरूले जानकारी दिएका छन् ।