काठमाडौं, २५ जेठ ।
काठमाडौंको बौद्धमा फेला परेको शव अन्यत्र हत्या गरेर फालिएको देखिएको छ। बौद्धको नयाँबस्तीमा बोराभित्र खुट्टा र घुडा मात्रै राखिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बोराभित्र शवको खुट्टा र घुँडाको भाग मात्र देखिएको जानकारी दिए।
अन्यत्र कतै हत्या गरेर त्यता फालेको हुनसक्ने उनको भनाइ छ। ‘अन्यत्रै हत्या गरेर जलाइएको अवस्थामा खुट्टा मात्र देखिएको छ’ एसएसपी सिंहले भने, ‘महिला वा पुरुष कसको हो भन्ने पनि खुल्न सकेको छैन।’
थप विवरण पोस्टमार्टमपछि मात्रै खुल्ने उनले बताए। एसएसपी सिंहका अनुसार शवको प्रकृति हेर्दा करिब तीन हप्ता पुरानो जस्तो देखिएको छ।
उक्त खुट्टाको फरेन्सिक परीक्षणपछि महिला हो कि पुरुष भन्ने खुल्ने उनको भनाइ छ। प्रहरीले पछिल्लो एक महिनाभित्रमा हराएका व्यक्तिको विवरण तयार पारेर थप अनुसन्धान गर्ने र त्यस केही पत्ता लाग्नसक्ने उनको अनुमान छ।
अहिले प्रारम्भिक विवरण अनुसार अन्य ठाउँमा हत्या गरेर त्यता शव जलाउन मात्र ल्याएको जस्तो देखिएको एसएसपी सिंहले जानकारी दिए।