देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ जेठ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल बीच आज साँझ बुढानिलकण्ठमा भेटवार्ता भएको छ । तीन नेताबीच देउवा निवासमा करिब एक घण्टा छलफल भएको छ ।

प्रचण्ड, नेपाल र देउवाबीच प्रधानमन्त्री ओलीले सर्वोच्चमा दायर रिटमा गरेको हस्ताक्षर फिर्ता लिन नेपाल समूहलाई गरेको आग्रहका विषयमा केन्द्रित रहेको बताइन्छ । प्रदेश सरकारहरुका विषयमा पनि छलफल भएको एक नेताले बताए ।

प्रदेशहरुमा पनि आफ्नो गठबन्धनको सरकार बनाउन विपक्षी दलहरुले गृहकार्य गर्दै आएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य भएको छ भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसहित कांग्रेस, माओवादी केन्द्र र एमालेका नेता नेपाल समूहबीच गठबन्धन बनेको छ ।

प्रदेश २ मा यादव निकट नेता लालबाबु राउत मुख्यमन्त्री छन् । मुख्यमन्त्री राउतले जसपाका ठाकुर पक्षलाई सरकारबाटै हटाएका छन् भने कांग्रेस र माओवादीलाई सरकारमा लैजाने तयारी गरेका छन् ।

यसबारे छलफल गर्न प्रचण्डले बिहान नेता नेपाल र देउवासँग अलग–अलग भेटेका थिए । यसपछि भने बुढानीलकण्ठमा तीन नेताबीच सामूहिक भेटवार्ता भएको हो ।