ओलीले एकताका लागि आह्वान गरेपछि प्रचण्ड-नेपालको गोप्य भेट

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ जेठ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेल एकताको प्रस्ताव राखेसँगै माधव नेपाल आफ्नो पक्षका नेताहरुसँग छलफलमा रहेका छन् ।

आजै स्थायी कमिटीका सदस्यहरुलाई पनि छलफलमा बोलाइएको छ । यसैबीच नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आफ्नै समूहमा पनि एकताका लागि दबाव रहेका बेला उनले प्रचण्डसँग छलफल गरेका हुने ।

कोटेश्वरमा भएको भेटमा प्रचण्ड र माधव नेपालबीच अबको रणनीतिका बारेमा छलफल चलिरहेको स्रोतले बताएको छ । यी हुन् ओलीले प्रस्तुत गरेका ६ बुँदे प्रस्ताव, जसले माधव समूहलाई तरंगित बनाएको छ

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको आह्वान गरेका छन्। आइतबार राति उनले ६ बुँदे प्रस्तावसहित एकता आह्वान गरेका थिए।

ओलीले पार्टी संरचनालाई २०७५ साल जेठ २ को अवस्थामा फर्काउन तयार भएका छन्। नेताहरूबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारबाही नगरिने प्रतिबद्धता ओलीले जनाएका छन्। कसैप्रति पूर्वाग्रह नराख्ने र भेदभाव नगरिने उनको प्रतिबद्धता छ।

यी हुन् ओलीले प्रस्तुत गरेका ६ बुँदे प्रस्ताव

१. नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्।

२. मातहतका पार्टी कमिटी र जनसंगठनहरु मूलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन्।

३. संगठननात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ।

४. आफ्नो पार्टीका अध्यक्षलाई प्रधामन्त्री पदबाट हटाइ विपक्षी दलका नेतालाई प्रधामन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएका नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्क्षतार फिर्ता हुने छ।

५. यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी कमोजारीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन।

६. नेकपा एमालेलाई वैचारिक, संगठनात्मक र भावनात्मकरुपले एकताबद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुने छ।