राउटे समुदायको भाईरल सम्झनालाई मुखियाले ४ महिना थुनेको खुलासा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ जेठ ।

मदिरा सेवन गरी राउटे समुदायका दुई युवतीलाई यौन दुर्व्यवहार गरिएको घटनाको प्रभावकारी अनुसन्धानमार्फत् दोषीलाई कानुनी दायरामा ल्याउन राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका ९ का युवाहरुले राउटे समुदायका युवतीहरुलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौन दुर्व्यवहार गरेको घटनाप्रति आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।आयोगको कर्णाली प्रदेश शाखा कार्यालय,जुम्लाले अनुगमनबाट पत्ता लगाएअनुसार उनीहरूलाई होटलमा लगेर यौन कार्य गर्न बाध्य बनाइएको थियो ।

यसैकारण अब ती युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्ने खतरा बढेको छ । अनुगमनबाट यौन हिंसामा परेका ती युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्दजस्तै गरी राखेको समेत खुलेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा पीडित युवतीहरुको गोपनीयता संरक्षण,स्वास्थ्य परीक्षण, भौतिक सुरक्षा र अधिकार प्राप्तिमा आवश्यक पहल र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रहसमेत गरिएको छ ।