भारतलाई ‘मक्ख’ पार्न ओलीले महन्थ पक्षलाई १० मन्त्री दिए-भीम रावल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ जेठ ।

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले वाह्य शक्तिलाई खुसी पार्न जसपाको महन्थ ठाकुर पक्षलाई १० मन्त्री दिएर सरकारमा सामेल गरेको टिप्पणी गरेका छन् । रावलको यस टिप्पणी सोझै ओलीले भारतलाई खुशी पार्न जसपाको ठाकुर पक्षलाई १० मन्त्री दिएको बुझिएको छ ।

शनिबार बिहान ट्विट गर्दै रावलले वाह्य शक्तिलाई मक्ख पार्न ओलीले आफूसँग पाँच मन्त्रालय राखेर जसपाको महन्थ पक्षलाई धुपबत्ती गर्नसक्ने आफ्नो ५ दिनअघिको व्यंग्यात्मक ट्विट शुक्रबार मन्त्रमण्डल पुनर्गठन भएबाट पुष्टि भएको बताए ।

‘प्रम केपीको चरम सत्तालिप्साका कारण उहाँबाट एकपछि अर्को असंवैधानिक र राष्ट्रघाति काम भइरहेको र कुर्सी स्वार्थका लागि अनेकौं कूकार्य हुँदै आएको तथ्यको आधारमा मैले ५ दिन अघि उहाँले आफूसँग ५ मन्त्रालय राखेर वाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपाको महन्थ पक्षलाई धुपबत्ती गर्नसक्ने कुरा व्यंगात्मकरूपमा ट्विट गरेको थिएँ । त्यसको जेठ २१ गतेको मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो,’ उनले लेखेका छन् ।

कामचलाउ प्रधानमन्त्रीको यो कार्य गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा भएको रावलको तर्क छ । ‘कामचलाउ प्रधानमन्त्रीको यो कार्य संवैधानिक र लोकतान्त्रिक मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा छ,’ रावलको ट्वीटरमा उल्लेख छ ।

साथै दुईपटक संविधान सभाको निर्वाचन गरी देश र जनताले ठूलो मूल्य चुकाएर जारी गरेको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको उनले बताए ।

‘यसमा रहेको लोकतन्त्रघातीहरूको नाम सार्वजनिक होस्,” रावलको माग छ । प्रधानमन्त्रीले राष्ट्रघाती, जनघाति, लोकतन्त्र र पार्टीको सिद्धान्त, नीति र विधान विपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्रलाई जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नुपर्ने परिस्थितिमा पुगेका हों,’ उनले लेखेका छन् । सबै देशभक्त लोकतन्त्रवादी एकजुट भएर देश, लोकतन्त्र र जनताको अधिकार र हितको रक्षाका लागि अग्रसर हुन उनको आग्रह छ ।