काठमाडौं, २२ जेठ ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकिने बताएका छन् । शनिबार समानान्तर कमिटीका जिल्ला पदाधिकारीहरुसँगको भर्चुअल बैठकमा बोल्दै नेता नेपालले ओली सच्चिने सम्भावना नदेखेकाले चुनौती बुझेर नै आफु अघि बढेको बताएका हुन् ।
‘केपी ओली सच्चिनेवाला छैनन्, बालुवा पेलेर तेल निस्किँदैन । त्यसैले मैले एउटा निष्कर्ष निकालेको छु । अब ओलीसँग मिल्न सकिँदैन,’ उनले भने, ‘तर सबै विकल्प सोचेर अघि बढ्नु पर्छ, नत्र घर न घाटको भइन्छ ।’ बैठकमा सहभागी एक नेताका अनुसार सांसदको हैसियतमा सर्वोच्चमा दायर गरेको रिट विचाराधीन रहेकाले उनले अहिले नै नयाँ पार्टी घोषणा गर्न पनि सम्भव नभएको बताए ।
प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर अघि बढेमात्र ओलीसँग औपचारिक वार्तामा वस्न तयार रहेको भन्दै नेता नेपालले ओलीसँग विद्रोहको बिगुल फुकिसकेकोले टोलटोलसम्म कमिटी बनाउन कार्यकर्ता पंक्तिलाई निर्देशन समेत दिए ।
नेता नेपालले ओलीसँग भएका अन्तरविरोधका बारेमा बताउँदै भने, ओलीले गलत कदम चालेपछि मात्रै त्यसलाई काउन्टर गरेका हौं ।