‘नेपाली भेरिएन्ट’ बेलायतको बहाना मात्रै, पोर्चुगलका प्रतिष्ठित वैज्ञानिकले गरे खुलासा।

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

बेलायतले आफ्ना नागरिकलाई यात्रा गर्न सुरक्षित भनी बनाएको ग्रिन ट्राभल लिस्टबाट पोर्चुगललाई हटाउन कोरोनाभाइरसको नेपाली भेरिएन्टको बहाना मात्रै बनाएको प्रतिष्ठित बैज्ञानिकले दावी गरेका छन् । बेलायतले मंगलबारदेखि लागू हुने गरी पोर्चुगललाई ग्रिन ट्राभल लिस्टबाट हटाएको शुक्रबार घोषणा गरेको थियो । बेलायतको यो घोषणालगत्तै पोर्चुगलको लिस्बनस्थित प्रतिष्ठित डा. रिकार्डो जर्ज इन्स्टिच्युटमा कार्यरत वैज्ञानिक अनुसन्धानकर्ता जोआओ पाउलो गोमेजले बेलायतले यो नयाँ म्युटेसनबाट हुन सक्ने जोखिमलाई बढाइचढाइ गरेको दावी गरेका छन् ।

बेलायतका शीर्ष जीनोम तथा इम्युनोलोजी विशेषज्ञहरुले समेत सहयोग गरिरहेका यी वैज्ञानिकले बेलायत सरकार आवश्यकताभन्दा धेरै अगाडि बढेर केटाकेटी निर्णय गरेको बताएका छन् । बेलायत सरकारको यो केटाकेटी निर्णयले हजारौं बेलायतीको विदा मनाउने योजना तुहिएको र पर्यटन क्षेत्रका हजारौं काम गुमेको उनले बताएका छन् । महामारी नियन्त्रणका लागि पोर्चुगल सरकारका महत्वपूर्ण सदस्य समेत रहेका यी वैज्ञानिकले नेपालमा म्युटेसन भएको भनिएको भेरिएन्टको पोर्चुगलमा १२ वटा मात्र केस रहेको र विश्वभरी ९० वटा मात्रै केस रहेको खुलासा गरेका छन् ।

नेपालमा म्युटेसन भएको भनिएको भेरिएन्ट भारतीय भेरिएन्टबाट परिवर्तन भएको खुलासा गर्दै यी वैज्ञानिकले यो म्युटेसन यसको माउ भेरिएन्ट अर्थात भारतीय भेरिएन्टभन्दा घातक भएको कुनै प्रमाण फेला नपरेको समेत बताएका छन् । ‘मलाई लाग्छ यो चियाको कपमा आँधी आएजस्तो मात्रै हो । हामीले बेलायतको यो निर्णयलाई निकै विचित्रको मानेका छौं किनकि यहाँ भारतीय भेरिएन्ट समेत ५ प्रतिशत पुगेको छैन । यो ४.८ प्रतिशत छ र बेलायतले भोगिरहेको परिस्थितिभन्दा निकै फरक छ’ उनले बेलायतको प्रतिष्ठित अखबार टेलीग्राफसँग भने ।

उनले नेपाली भेरिएन्टलाई नजिकबाट निरीक्षण गरिनुपर्ने कुरा सही भएको तर आत्तिनुपर्ने अवस्था नभएको बताउँदै भने ‘कुनै एउटा भेरिएन्ट कुनै देशमा आएपछि र भाइरस व्यक्तिबाट व्यक्तिमा सर्न थालेपछि म्युटेसन हुन्छन् यो सामान्य कुरा हो । यो म्युटेसन नयाँ होइन । यसका चरित्रहरु हामीले दक्षिण अफ्रिकी भेरिएन्टमा पनि देखेका हौं । यो केवल अर्को हो र हामीले पहिल्यै देखेको कुरा दोहोरिएको मात्र हो ।’

वेलकम स्यांगर इन्स्टिच्युटको कोभिड १९ जीनोमिक्स इनिसिएटिभका निर्देशक डा. जेफ बारेटले पनि गोमेजको तर्कलाई समर्थन गर्दै भनेका छन् ‘हामीले नयाँ विकास भएका जुनसुकै म्युटेसनको पछि लागेर सम्भवतः आवश्यकताभन्दा धेरै अघि बढेका छौं ।’ डा. बारेटले अगाडि भने ‘हाम्रो राडारमा केवल ९० वटा केस भएको अवस्थामा यो अखबारको पहिलो पृष्ठमा आउनुपर्नेजत्तिको महत्वको कुरा हो जस्तो मलाई लाग्दैन ।’

युनिभर्सिटी अफ एडिनबरामा इम्युनोलोजी तथा संक्रामक रोगका प्राध्यापक एलेनर रिलेले पोर्चुगलसँग प्रभावकारी जीनोम सिक्वेन्सिङ प्रणाली भएको र उसले यो म्युटेसनबारे थाहा पाएकोले उसलाई सजाय दिइएको बताइन् । ‘हामीले एउटा देशलाई ऊसँग राम्रो संरचना भएका कारण सजाय दिइरहेका छौं । यदि ऊसँग यो सुविधा नभएको भए उसलाई यस्तो कुनै समस्या हुने थिएन’ प्राध्यापक रिलेले भनिन् । उनले बेलायत सरकारले भारतीय भेरिएन्टको बारेमा निर्णय लिन निकै ढिलो गरेको तर पोर्चुगलको हकमा आवश्यकताभन्दा चाँडो निर्णय गरेर हतार गरेको आरोप लगाइन् ।

प्रोफेसर रिलेले साझा सीमा नीतिको आवश्यकता औंल्याइन् । उनले भनिन् ‘हामीले हरेक सम्भावित नयाँ भेरिएन्टबारे चिन्ता गरिरहेका छौं वा अब हामीले केही समय पर्खिएर यसको प्रभाव हेर्नुपर्ने हो भन्ने स्पष्ट छैन । अहिले हामी एक अर्काको बीचमा उफ्रिइरहेका छौं । हाम्रो सीमा नीति के हो भन्ने स्पष्ट छैन ।

द टेलीग्राफका लागि लेखेको एक अनलाइन लेखमा बेलायतका लागि पोर्चुगलका राजदूत म्यानुएल एन्टुनेसले आफ्नो देशलाई ग्रिन लिस्टबाट हटाउने निर्णय गलत डाटामा आधारित रहेको बताउँदै यसले बेलायती पर्यटक र अर्थतन्त्रको लागि निकै नकारात्मक परिस्थिति सृजना गर्ने बताएका छन् । ‘पोर्चुगलमा भएका केसहरुको संख्या भर्खरै दोब्बर भएको भन्नु पूरै गलत हो । मलाई लाग्छ यो विषयमा बेलायतले पोर्चुगलले भन्दा पनि खराब काम गरेको छ र बेलायतमा संक्रमितको संख्या दैनिक बढिरहेको छ’ उनले लेखेका छन् ।

बेलायत सरकारको यो निर्णयविरुद्ध बेलायतको पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुको प्रतिनिधित्व गर्दै त्यहाँको द ट्राभल एसोसिएसनले अदालतमा मुद्दा हालिदिएको छ र सरकारले आफ्नो यो निर्णय कुन अर्थमा सही थियो भन्ने प्रमाणित गर्नुपर्ने माग गरेको छ । ‘पोर्चुगललाई ग्रिन लिस्टबाट हटाउने जस्ता निर्णयहरु केमा आधारित भएर गरिएका हुन् भन्ने विषयमा हामीले स्पष्ट जवाफ मागेका छौं’ पर्यटन उद्योगका एक बरिष्ठ कार्यकारीले टेलीग्राफसँग भने ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]