मन्त्री बनेपछि घरायसी सामान र पुस्तकबाहेक मेरो अरु सम्पती थपिएको छैनः प्रदीप ज्ञवाली

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २२ जेठ ।

परराष्ट्र मन्त्रीबाट बिदा भएका प्रदीपकुमार ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

उनले मन्त्री रहँदाको अवधिमा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० रुपैयाँ पार्टी खातामा जम्मा भएको बताएका छन् । त्यसमा पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको र हाल आफ्नो खातामा ७,४१,७७५ रुपैयाँ ६० बचत रहेको जानकारी गराएका छन् ।

उनले केही घरायसी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बनेपछि सार्वजनिक आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको सामाजिक सञ्जालमार्फत शुक्रबार राति जानकारी गराएका छन् । उनले आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप म्याकबुक प्रो आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराएका छन् ।