यस कारण माधव नेपाललाई एमालेबाट बिदा गर्न चाहन्छन् : ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ जेठ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच वैशाख ८ गते नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भयो। छलफल सकेर निस्किँदै गर्दा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल खुशी देखिन्थे। ओलीका राजनीतिक सल्लाहकार मोतिलाल दुगडले वार्ता सकारात्मक भएको बताएका थिए।

त्यसको एकदिनपछि वैशाख ९ गते पनि ओली र नेपालबीच भेट भयो। तर, एकदिन अघिको सकारात्मक वार्ता भोलिपल्टै नकारात्मक बनिदियो।त्यसपछि, वैशाख ३० गते पनि ओली र नेपालबीच क्याप्टेन रामेश्वर थापाको चपलीस्थित निवासमा भेट भयो। त्यसलगत्तै जेठ २ गते पनि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भयो।

पार्टी एकतालाई कायम राख्ने जमर्कोमा लागेका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, शंकर पोखरेल लगायत छन्।ओलीको तर्फबाट सन्देशवाहकको काम त धेरै नेताले गरिरहेका छन्। तर, सार्थक वार्ताका लागि ओलीलाई कन्भिन्स गर्ने आँट कसैले गरेका छैनन्।

नेकपा एमालेभित्र आफ्नो राजनीतिक स्पेसको खोजी र सुरक्षणमै अधिकांश नेता केन्द्रित छन्। औपचारिक संवादमा एमालेको एकताको कुरा गरेर नथाक्ने नेताहरू नेपाल समूहका आफ्नो प्रतिष्पर्धी नेताहरूको अनुहार सम्झिने बित्तिकै ‘उनीहरू गए हाइसच्चो’ भन्ने भाव प्रकट गर्छन्।

‘सकारात्मक’ वार्ता भोलिपल्टै भंग गर्ने मनस्थितिमा किन पुग्छन् ओली? ‘केपीजी व्यक्तिगत रुपमा राम्रो मान्छे भए पनि उहाँको वरिपरि रहेका अनेकन् स्वार्थ बोकेका नेताहरूकै कारण एमाले एकताको सूत्र नभेटिएको हो,’ नेपाल पक्षका एक केन्द्रीय सदस्यले भने।ती नेताका अनुसार आफ्नो व्यक्ति स्वार्थपूर्तिकै लागि ओलीलाई ‘गलत सल्लाह’ दिने १० नेताका कारण एमालेको एकता संकटमा परेको हो। ‘यी नेतालाई ओलीजीले अलिकति साइजमा राखेर आफ्नो निर्णय र आफ्नो विचार अनुसार काम गरे समस्या समाधान हुन्छ,’ उनले भने।

माधव नेपाललाई महाशत्रु ठान्ने ईश्वर पोखरेल
वि.सं. २०७१ असार ३१ एमालेको महाधिवेशनको परिणाम आउँदै गर्दा एमाले नेता ईश्वर पोखरेल निकै चिन्तामा थिए। कारण थिए, सुरेन्द्र पाण्डे।निकै कडा प्रतिस्पर्धाबीच एमाले महासचिवमा पोखरेल निर्वाचित भए। पोखरेलले १ हजार ३६ मत ल्याउँदा उपविजेता पाण्डेले १ हजार ३० मत प्राप्त गरेका थिए।

महासचिव पोखरेल अहिले ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री छन्। ‘ईश्वर पोखरेलको लक्ष्य केपी ओलीको उत्तराधिकारी बन्नु हो, अर्थात् अबको महाधिवेशनमा ओली नउठेमा अध्यक्षमा उठ्ने उहाँको लक्ष्य हो, त्यसैले माधव समूहलाई बिदा गर्ने पक्षमा उहाँ हुनुहुन्छ,’ ती नेताले भने।एमालेको आगामी महाधिवेशनमा ओली नउठेमा पोखरेलले उम्मेदवारी दिने तयारी आन्तरिक रुपमा गरेका छन्। ती नेताका अनुसार ओलीकै गुटमा पनि पोखरेलको छुट्टै गुट छ।

‘वामदेव गौतम, सुवासचन्द्र नेम्वाङदेखि भीमबहादुर रावलदसम्मले अध्यक्षमा दावी गर्ने निश्चित छ, अघिल्लो महाधिवेशनमा सुरेन्द्र पाण्डेसँग झिनो मतले जितेकै कारण पोखरेललाई नेपाल समूहसँग डर छ,’ ती एमाले नेताले भने।नेपाल समूहलाई हटाएर आफू एकल उम्मेदवारको रुपमा स्थापित हुने प्रयत्नमा पोखरेल रहेको ती नेताको दावी छ। ‘पोखरेलले आफ्नो स्थान सुरक्षित गर्नकै लागि भए पनि नेपाल समूहलाई हटाउन ओलीलाई निरन्तर सल्लाह दिइरहेको प्रष्ट बुझिन्छ,’ ती नेताले भने।

बदला लिने सोचमा रामबहादुर थापा
नेकपा माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटासँग पराजित भए।कुनै समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनजिक रहेर राजनीतिक लाभ लिएका थापा अहिले ओली गुटमा छन्। उनी पराजित हुनुको कारक थियो– एमाले माधवकुमार नेपाल समूह।‘बादलमाथि अहिले एमालेमा स्पेस बनाउने चुनौती छ, त्यसमाथि एमालेकै नेपाल समूहले राष्ट्रियसभामा हराएर गृहमन्त्रीको जागिर पनि खोसिदियो,’ एमालेका एक केन्द्रीय नेताले भने, ‘त्यसको बदलाभावले पनि ओलीलाई बादलले दिने सल्लाहमा माधव समूहलाई पार्टीबाट निकाल्ने कुरामा जोडतोडका साथ आउछ।’

ओलीको उत्तराधिकारी हुने विष्णुप्रसाद पौडेलको चाहना
हुन त एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेल पार्टीको विवाद समाधान उपसमितिमा पनि छन्। वार्ता र छलफलमा ‘सहमति गरौं’ भनेर अमुर्त कुरा धेरै पटक गर्ने गरेका छन् पौडेलले।तर, अर्थमन्त्री समेत रहेका पौडेललाई अहिले एउटा पीडाले पोलेको छ। माओवादी र एमालेको एकता पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महासचिव बनाइएका पौडेलको लक्ष्य एमालेको नेतृत्व हो।

आगामी महाधिवेशनमा उपमहासचिव रहेका पौडेलको भेट अर्का उपमहासचिव घनश्याम भुसालसँग हुन्छ। उनी महासचिव भएर शक्तिशाली पदाधिकारीको रुपमा पार्टी चलाउने र अर्को महाधिवेशनमा नेतृत्वमा दावी गर्ने लक्ष्यमा छन्।उपमहासचिवमा भुसालले १ हजार ९७ ल्याउँदा पौडेलले १ हजार ८२ मत प्राप्त गरेका थिए। ‘ओलीले नेकपा गठन हुँदा आफ्नो उत्तराधिकारीकै रुपमा पौडेललाई महासचिव बनाउनु भयो, त्यसपछि उहाँमा महत्वकांक्षा बढेको छ,’ ती नेताले भने, ‘त्यसैले उहाँ पनि माधव नेपाल पक्ष पार्टी नहोस् भन्ने चाहना राख्नुहुन्छ।’

‘नयाँ जोगी खरानी धेरै’ अर्थात् टोमबहादुर रायमाझी
एमालेका बैठकहरूमा सहभागी नेताहरू भन्छन्, ‘टोपबहादुरजी, माधव नेपाल र प्रचण्डप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुनुहुन्छ।’माओवादीले सांसद्बाट कारबाही गरेपछि रायमाझीको मन्त्री पद गयो। उनी त्यसपछि प्रचण्डप्रति निकै असन्तुष्ट भएका छन्। ‘अर्को कुरा चाहिँ एमालेमा आएका टोपबहादुरजीहरूलाई अस्तित्व बचाउने संघर्षको सहजताकै लागि पनि नेपाल पक्षलाई बिदा गर्ने पक्षमा हुनुहुन्छ,’ ती नेताले भने।

गोकर्णका प्रतिष्पर्धी प्रदीप ज्ञवाली अब ओलीका प्रवक्ता
प्रतिनिधिसभाको निर्वाचन–२०७४ मा गुल्मी क्षेत्र नम्बर–१ बाट एमाले सचिवका प्रदीपकुमार ज्ञवाली निर्वाचित भए। गुल्मी क्षेत्र नम्बर–२ बाट गोकर्ण बिष्ट विजयी भए।त्यसअघि २०७१ सालको एमाले महाधिवेशनमा पाँच सचिवमा सबैभन्दा बढी १ हजार २ सय ७० मतसहित गोकर्ण बिष्ट विजयी भए। नेपाल समूहका बिष्टसँगै प्रदीप ज्ञवाली पनि १ हजार १ सय ५५ मतसहित विजयी भए।

‘त्यसयता देखिने गरी राम्रो भए पनि भित्री रुपमा प्रदीप ज्ञवालीले गोकर्ण बिष्टलाई रुचाउनु हुन्न,’ एमालेका ती केन्द्रीय नेताले भने, ‘एउटै जिल्लाका बिष्टको लोकप्रियताप्रति ज्ञवाली चिढिनु हुन्छ, त्यसैले ज्ञवालीले आफ्नो स्वार्थसिद्धि गर्न नेपाल समूहको बहिर्गमनमा रुचि राख्नु भएको हो।’त्यसो त लेखा समितिको बैठकमा एमाले उपाध्यक्ष भीम रावलले ज्ञवालीको झाँको झारेपछि नेपाल समूहलाई उनले शत्रुतापूर्ण व्यवहार गर्ने गरेको एमालेका नेताहरू बताउँछन्।

पार्टीको पोर्टफोलियोमा केही तल रहे पनि शंकर पोखरेल, अग्निप्रसाद खरेल, गोकुल बास्कोटा, महेश बस्नेत र विष्णु रिमाल प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको किचन क्याबिनेटभित्रका नेता हुन्।लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका शंकर पोखरेल उपमहासचिवमा पराजित हुन्। अहिले एमालेको संकट समाधानका लागि छलफलमा रहे पनि पार्टी एकताको पक्षमा पोखरेल नरहेको ती नेताले बताए।

‘ओलीका उत्तराधिकारी बन्ने होडमा ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङपछि शंकर पोखरेल हुनुहुन्छ, त्यसैले नेपाल समूहको बहिर्गमन आफ्नो लागि फाइदाजनक हुने उहाँको निष्कर्ष हुनुपर्छ,’ ती नेताले भने।प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल पनि एमाले महाधिवेशनमा सचिव पदमा पराजित उम्मेदवार हुन्।

‘प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको भूमिकाभन्दा पनि विष्णु रिमालको चाहना पार्टीभित्र हंगामा गरेर भए पनि आफू अघि बढ्ने हो, पार्टी फुटलाई प्रश्रय दिने काममा र प्रधानमन्त्रीलाई अनुचित सल्लाह दिनेमै पर्नुहुन्छ उहाँ,’ ती नेताले भने।

एमाले नेता, पूर्वमन्त्री अग्निप्रसाद खरेलको लक्ष्य झापामा उम्मेदवार बन्नु हो। झापामा नेपाल पक्षका प्रभावशाली नेताहरू पाखा लागेमा आफूलाई सजिलो हुने सोचमा रहेको एक एमाले नेताले बताए।‘केपी ओलीका रक्षाकवचकै रुपमा खरेलले आफूलाई उभ्याउनु भएको छ, उहाँका अभिव्यक्तिदेखि क्रियाकलापसम्मले नेपाल समूहको बहिर्गमनको प्रतिक्षा चाहेको प्रष्ट हुन्छ,’ ती नेताले भने।

पूर्वमन्त्रीद्वय गोकुल बास्कोटा र महेश बस्नेत खुलेआम नेपाल समूहमाथि कारबाही गर्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै आएका छन्। ‘गोकुल बास्कोटा र महेश बस्नेतको पृष्ठभूमि विवादित छ, नेपाल समूहका विद्वान नेताका अगाडि टिक्न नसक्ने भएकैले उहाँहरू माधव नेपालको बहिर्गमन चाहनुहुन्छ,’ एक एमाले नेताले भने।