राजनीति : मन्त्री मण्डल पुनर्गठन, श्रीमती ‘आउट’, श्रीमान् ‘इन’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्री मण्डल हेरफेर गरेका छन् । यस क्रममा ओलीले नेकपा एमालेबाट मन्त्री भएका ४ जनाबाहेक सबैलाई हटाएर जनता समाजवादी पार्टी (जसपा)सहितको मन्त्री मण्डल गठन गर्ने भएका हुन् ।

यस क्रममा प्रधानमन्त्री ओलीले व्यापारी उपेन्द्र महतोकी बहिनीसमेत रहेकी जुली महतोलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पदबाट हटाएका छन् । तर, उनका श्रीमान् रघुवीर महासेठलाई ओलीले शक्तिशाली मानिने मन्त्रालय परराष्ट्रको जिम्मेवारी दिने भएका छन् ।

नेकपा एमालेमा पार्टी विवाद उत्कर्षमा पुग्दै गर्दा महासेठ र महतो दम्पती नेता माधव नेपाल निटक देखिएका थिए । उनीहरू नेता नेपाल पक्षले राख्दै आएको आम सभामा समेत उपस्थित भएका थिए । तर, दुई जनामध्ये एक जनालाई मन्त्री बनाउनु पर्ने सर्तमा ओली पक्षमा लागेका थिए ।

प्रधानमन्त्री ओलीले आज शुक्रबार मन्त्री मण्डल हेरफेर गर्दै गर्दा एकै परिवारका श्रीमती पदबाट बाहिरिदै गर्दा श्रीमान् मन्त्री बन्ने भएका हुन् ।

नयाँ मन्त्री मण्डलमा जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र २ जना राज्य मन्त्री बन्ने भएका छन् । नयाँ मन्त्रीहरूलाई आज राति ८ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।