काठमाडौँ, २१ जेठ ।
खाना पकाउने ग्यासको मूल्य अब ११ सय २० रुपैयाँमा पाइने भएको छ । बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै, पीठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा पाइने भएको छ ।
साल्ट ट्रेड्रिङ कर्पोरेशनले खाद्यान्न र खाना पकाउने ग्याँस सस्तो मूल्यमा बिक्री गर्ने भन्दै मूल्यसूची सार्वजनिक गरेको हो ।
सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको पाँच दिनपछि साल्ट ट्रेडिङले आफूले बिक्री गर्ने खाद्य सामग्री र मूल्य सार्वजनिक गरेको हो ।
कसरी पाइन्छ छुट ?
पाँच जनाको परिवारले एक महिनामा दुई किलो पीठो, दुई किलो चिनी, दुई किलो नून, एक लिटर भटमासको तेल र एक सिलिण्डर खाना पकाउने ग्याँस मात्र किन्न पाउनेछन् ।
साल्ट ट्रेडिङबाट छुट मूल्यमा सामान किन्न व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्नेछ ।
कहाँ-कहाँ पाइन्छ छुट ?
काठमाडौं उपत्यकामा सर्वसाधारणले साल्ट ट्रेडिङको सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुरबाट छुट मूल्यमा सामान पाउनेछन् ।
यस्तै, काठमाडौंबाहिर बनेपा र धनगढीबाट खाद्य सामग्री छुट मूल्यमा बिक्री गर्ने साल्ट ट्रेडिङले जनाएको छ । खाना पकाउने ग्याँस भने काठमाडौं उपत्यकामा मात्र बिक्री हुनेछ ।