सुनको मूल्य आज ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २१ जेठ ।

सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो।

अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ९२ हजार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको छ ।

बिहीबार उक्त सुनको प्रतितोला कारोबार मूल्य ९४ हजार चार सय रुपैया थियो । यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ ।

नेप्सेमा फेरि अर्को रेकर्ड

नेपाल स्टक एक्सचेन्ज नेप्से मा हिजोआज हरेक दिन ऐतिहासिक रेकर्ड कायम हुन थालेको छ । यसैक्रम साताको अन्तिम कारोबार दिन बिहीबार हालसम्मकै उच्च कारोबार भएको छ । २९ दशमलव ५५ अंकले वृद्धि हुँदै नेप्से २८५६ दशमलव ६७ बिन्दुमा पुग्दो करिब १७ अर्ब रुपियाँको कारोबार भएको छ । दुवै बिन्दु नेप्सेको इतिहासमा हालसम्मकै उच्च हो ।

यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लाख ५१ हजार रुपियाँ पुगेको छ । बजार पुँजीकरण पनि हालसम्मै उच्च हो । बिहीबार कुल २१८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार कित्ता शेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार रुपियाँमा कारोबार भएको छ ।
साढे ३९ खर्ब रुपियाँभन्दा माथि पुगेको शेयर बजारको समग्र पुँजीकरण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)भन्दा बढी रहेको छ । शेयर बजारको कुल पुँजी जीडीपीको वरिपरि घुम्नुलाई पुँजी बजारका लागि सकारात्मक मानिए पनि जीडीपीभन्दा धेरै माथि समग्र पुँजीकरण हुन थाल्यो भने शेयर बजारका लागि खतराको संकेत हुन सक्ने विश्लेषकहरूको भनाइ छ । बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ समूहको सूचक नकारात्मक देखिएका छन् । हाइड्रोपावर समूहको सूचक सबैभन्दा धेरै घटेको छ।

यस दिन पनि कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी पहिलो स्थानमा रहेको छ । सो कम्पनीको मात्रै एक अर्ब दुई करोड ७० लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ । यस्तै छिमेक लघुवित्त विकास बैंकको ६८ करोड १६ लाख, लुम्बिनी विकास बैंकको ३५ करोड पाँच लाख, नेपाल बंगलादेश बैंकको ३३ करोड २२ लाख र नेपाल पूर्वाधार बैंकको ३३ करोड १३ लाख रुपियाँभन्दा बढीको कारोबार हुँदै उच्च कारोबार हुने कम्पनीहरूको सूचीमा अगाडि रहेका छन् ।बिहीबार मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । साथै गोर्खाज फाइनान्सको ९ दशमलव ६८, ग्रीन डेभलपमेन्ट बैंकको ९ दशमलव ५५, साइन रेसुंगा डेभलपमेन्ट बैंककाको ७ दशमलव ९५ प्रतिशतले शेयर मूल्य बढेको छ । तर, पञ्चकन्या माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, बरुण हाइड्रोपावर, घलेम्दी हाइड्रो, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने तुलनात्मकपमा बढी गुमाएको नेप्सेले जनाएको छ ।

साढे ३९ खर्ब रुपियाँभन्दा माथि पुगेको शेयर बजारको समग्र पुँजीकरण देशको कुल गार्हस्थ्य उत्पादन जीडीपी भन्दा बढी रहेको छ । शेयर बजारको कुल पुँजी जीडीपीको वरिपरि घुम्नुलाई पुँजी बजारका लागि सकारात्मक मानिए पनि जीडीपीभन्दा धेरै माथि समग्र पुँजीकरण हुन थाल्यो भने शेयर बजारका लागि खतराको संकेत हुन सक्ने विश्लेषकहरूको भनाइ छ ।