संघर्षबाट प्राप्त उपलब्धी गुम्दै जाने खतरा भयो : प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २१ जेठ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धी गुम्दै जाने खतरा भएको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी गुम्दै जाने खतरा पैदा भएको बताएका हुन् ।

उनले सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाइ सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता रहेको बताए ।

प्रचण्डले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय रहेको भन्दै आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेको बताए ।

उनले संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुने र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्ने बताएका छन् ।