भोलिबाट साल्ट ट्रेडिङबाट ११०० मै ग्याँस, ६३ रुपैयाँमा चिनि, कहाँ–कहाँ पाइन्छ किन्न ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० जेठ ।

सरकारी लगानीमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशनले भोलिबाट एक हजार १२० रुपैयाँमा एक सिलिण्डर ग्याँस उपलब्ध गराउने भएको छ ।

आज जारी सूचना अनुसार भोलिदेखि साल्ट ट्रेडिङ कर्पोरेशनले भोलिबाट केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुबाट समेत प्रति परिवार एक सिलिण्डर ग्याँस एक हजार १२० रुपैयाँमा उपलब्ध गराउने निर्णय गरेको हो । साल्ट ट्रेडिङ कर्पोरेशनले भोलिबाट चिनि प्रतिकेजी ६३ रुपैयाँमै उपलब्ध गराउने भएको छ ।
साल्ट ट्रेडिङ र खाद्य तथा व्यापार कम्पनीले आज सूचना जारी गर्दै सरकारले आव २०७८।०७९ को बजेटमा व्यवस्था भए अनुसार मौज्दात हुँदासम्म २० प्रतिशतमा छुट दिने निर्णय गरेको हो । मौज्दात सकिएपछि भने छुट दिन नसक्ने कर्पोरेशनले जनाएको छ । कर्पोरेशनका अनुसार साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आएको एसटिसी ग्याँस सिलिण्डर बाहकले यस्तो छुट पाउने छन् । अन्य ग्याँस सिलिण्डर बाहकले भने त्यस्तो छुट पाउने छैनन् । बजारमा १४०० रुपैयाँ पर्ने ग्याँस अब ११२० रुपैयाँमै पाइने भएको हो ।

साल्ट ट्रेडिङका अनुसार केन्द्रीय कार्यालय कालिमाटी, चन्द्रागिरीको सतुङ्गल, जावलाखेलको प्रहरी कार्यालय अगाडिको खेल मैदानसँगै, कोटेश्वरमा जडिबुटी नजिकै तथा भक्तपुरको सूर्यबिनायक नजिकै रहेको शाखा कार्यालयबाट सहुलियतका सामग्रीहरु किन्न पाइन्छ । त्यस्तै खाद्य तथा व्यापार कम्पनीको थापाथलीमा रहेको बिक्री केन्द्रसहितका अन्य शाखा कार्यालयबाट उपलब्ध हुनेछन ।

कर्पोरेशनले पिठो प्रतिकेजी ४४ रुपैयाँमा उपलब्ध गराउने छ भने भटमासको तेल १८८ रुपैयाँ प्रतिलिटरमा अधिकतम् २ लिटरका दरले उपलब्ध गराउनेछ । त्यस्तै, नुन प्रतिकेजी १६ रुपैयाँमै उपलब्ध हुनेछ ।

त्यस्तै खाद्य तथा व्यापार कम्पनीले बिक्री गर्ने चालममा २० प्रतिशत छुट दिई उपलब्ध गराउने जनाएको छ । जसमा चामल, पिठो, दाल, नून, खानेतेल, चिनिमा मौज्दात रहदासम्म छुट दिने खाद्य तथा व्यापार कम्पनीले जनाएको छ ।