काठमाडौं, २० जेठ ।
नेपालमा बितेको पछिल्लो २४ घण्टामा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको परीक्षण भएको छ ।
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । यस्तै मृतकको कुल संख्या ७ हजार ६३० पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ । हाल संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ ।
त्यस्तै नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दावीसहित बेलायती पत्रपत्रिकाले समाचार प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग जानकारी माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन शुक्रबार बिहान त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरेको बताए ।
‘बेलायती सञ्चारमाध्यमहरुमा नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे दावी गरिएको रहेछ । तर यसबारे हामीलाई कुनै जानकारी छैन,’ उनले भने, ‘नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएका छन् । तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले हामी आश्चर्यचकित भएका छौं ।’ बेलायतले पनि हालसम्म नेपालबाट फर्किएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको बताएको तर नयाँ भेरियन्टबारे आधिकारिक जानकारी नगराएको पौडेलले जानकारी दिए ।
‘हामी आफैं यसबारे अनभिज्ञ छौं । बेलायतले जानकारी गराए अनुसार यहाँबाट गएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको खबर पाएका छौं । नयाँ भेरियन्टबारे कुनै अफिसियल जानकारी छैन’ डा. पौडेलले भने । डेल्टा (बी.१.६१७.२) भेरियन्ट भने भारतमा पत्ता लागेको र नेपालमा पनि फैलिएको भेरियन्ट हो ।
नेपालमा कुन भेरियन्ट फैलिएको भन्नेबारे नियमित अध्ययन भइरहेको समेत उनले बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पौडेल भन्छन्, ‘भेरियन्टबारे पत्ता लगाउन जिन सिक्वेन्सिङ भइरहेको छ, तर नयाँ भेरियन्टबारे हाम्रो जानकारीमा छैन । सञ्चारकेन्द्र बाट