रुपन्देही, २० जेठ ।
भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीय डा. पशुपति रजौरियाको बुधबार राती मृत्यु भएको हो ।
डा. रजौरियाको संक्रमणका कारण मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिए । कपिलबस्तु घर भएका डा. रजौरियाको केही महिनाअघि मात्र विवाह भएको थियो । उनीसँगै श्रीमती पनि कोभिड संक्रमित भएकी थिइन् ।
श्रीमती डा. हसिना वानु संक्रमणमुक्त भएपनि डा. रजौरियाको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
उनीहरु दुवैजना सोही अस्पतालमा कार्यरत थिए । श्रीमती वानु प्रसुती तथा स्त्री रोग विशषज्ञ हुन् ।