पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिको सन्देश: महामारीबाट जोगिऔं

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २० जेठ ।

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिले महामारीबाट जोगिन सबैलाई आग्रह गरेका छन्।

रानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर भिडियो मार्फत जारी सन्देशमा पूर्व राजा शाहले आफूहरूको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गर्दै आम नेपालीलाई स्वास्थ्य रहन आग्रह गरेका छन् ।

सन्देशमा पूर्व राजा शाहले भनेका छन्, ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ ।’

उनले अग्रपंक्तिमा रहेर महामारीविरुद्ध दिनरात खटिरहेकाहरुलाई धन्यवाद भनेका छन्। सन्देशमा भनिएको छ, ‘अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई धन्यवाद दिन चाहन्छौँ ।’

उनले सबैमा महामारीबाट जोगिनका लागि सावधानी अपनाउन पनि आग्रह गरेका छन्। हाल संक्रमण भइ उपचारको क्रममा रहेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासँगै कोभिड–१९ का कारण निधन भएकाहरुको चीरशान्ति र उनिहरुको परिवारजनमा धैर्यधारणको शक्ति दिन पशुपतिनाथसँग प्राथना गरेका छन्। प्राप्त सहयोगको लागि उनले अन्तराष्ट्रिय जगतलाई पनि धन्यवाद दिएका छन्।

केही समय अगाडि भारतको कुम्भ मेलाबाट फर्किपछि पूर्व राजा दम्पत्तिमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनीहरु करीब २ साताको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]