दरबार हत्याकाण्डको यसरी स्मरण गरे पूर्वराजा ज्ञानेन्द्रले

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ जेठ ।

तत्कालीन राजा विरेन्द्र शाहको बंशनाश हुनेगरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पुरा भएको छ । यस दिनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले पनि स्मरण गरेका छन् ।

बुधबार एक ट्वीट सन्देश जारी गर्दै पूर्वराजा शाहले लेखेका छन्, ‘एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न । साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ । अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन । प्रिय दाजू र उनका परिवारप्रति हार्दिक श्रद्धाञ्जलि ।’

वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र शाह राजा बनेका थिए ।

२०५८ जेठ १९ गते साँझ राजदरबार भित्रै तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।

दरबारमा भएको पारिवारिक जमघटका अवसर पारी उक्त हत्याकाण्ड भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दिपेन्द्र शाहले हत्का गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन उल्लेख गरिएको थियो ।

तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।