काठमाडौं, १९ जेठ ।
काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा जेठ २१ गतेदेखि ३१ गतेसम्म निषेध आदेश थप भएको छ। यो अवधिमा यसअघिको जस्तै अधिकांश सेवा बन्द भए पनि केही खुकुलो पारिएको क्षेत्र रातिमा सञ्चालन गर्न पाइने भएको छ। दोस्रो लहरको कोरोना संक्रमणका कारण उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको हाे।
बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो। वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो।
जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने छ ।
यस्तै सवारीसाधनको मर्मत गर्ने वर्कशपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ भने तरकारी, फलफूल, खाद्यान्न, दूग्धजन्य वस्तु तथा स्वास्थ्यसम्बन्धी सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ९ बजेसम्म गर्न पाइने छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीद्वारा जारी निषेध आदेशमा भनिएको छ, ‘तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल, डिपार्टमेन्टल स्टोर, बिहान ९ बजेसम्म खुला गर्ने। तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण नगर्ने। स्थानीय ढुवानीका हकमा राति ९ बजेदेखि बिहान ९ बजेसम्म मात्र गर्ने।’
पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने र विभागको पास नभएकाले जिल्ला प्रशासनबाट लिएको पासका आधारमा आवातजावत गर्न पाइने आदेशमा उल्लेख छ।
जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, न्यायाधीश, मन्त्रालयका सचिव, विभागीय प्रमुख र मन्त्रालयका सहसचिव आफ्नो परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।