महेश बस्नेत अपराधी-फटहा हुन्, उपेन्द्रबारे बोल्ने उनको हैसियत छैनः राज्यमन्त्री यादव

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ जेठ ।

प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले नेकपा एमालेका नेता महेस बस्नेत फटहा प्रवृतिका अपराधी रहेको टिप्पणी गरेका छन् ।

सरकारमा सहभागी हुन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा रक्षा र अर्का नेता महेन्द्र राय यादवलाई सशक्त मन्त्रालय दिएर सरकारमा सहभागी गराउन रातिराति बालुवाटारमा प्रतिनिधि पठाउने गरेको टेलिभिजन अन्तवार्ताको क्रममा नेता बस्नेतले आरोप लगाएपछि राज्यमन्त्री यादवले यस्तो टिप्पणी गरेका हुन् ।

ओली नेतृत्वको प्रतिगमनकारी सरकारले वर्तमान संविधान र संघीय व्यवस्था नै खारेज गर्ने डिजाइनमा अग्रसर भइरहेकाले उनी नेतृत्वको सरकारमा सहभागी हुन जसपा अध्यक्ष यादवले कुनै पहल नगरेको जनकपुरप्रेससितको कुराकानीमा राज्यमन्त्री रायले स्पष्ट पारे ।

एमाले नेता बस्नेतले अध्यक्षलाई बदनाम गर्न गलत अफवाह फैलाउने प्रयास गरेको र अध्यक्ष यादवबारे टिप्पणी गर्ने उनको हैसियत नै नरहेको जसपाका केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका उनले बताए ।

महेस बस्नेत अलि बढी बोलेका छन् । उनी राजीतिक रुपमा फटहा कुरा गर्न मात्र जानेका छन । अपराधी र फटहागिरी चरित्र भएका पात्र हुन् उनी । वहाँको औकाद हामी सरहको हो उपेन्द्र यादव सरहको होइन्,’ राज्यमन्त्री यादवले भने ।

एमालेका युवा संघको अध्यक्ष हुँदा आफुपनि मधेसी जनअधिकार फोरको युवा संघको अध्यक्ष रहेर उनीसित समकक्षी भएर काम गरेको र विगतमा समेत नेता बस्नेतले फट्याई कुरा गर्ने गरेको उनको टिप्पणी छ ।