एमालेमा फर्किने घनश्याम, सुरेन्द्र, योगेश र गोकर्णले गरे ओलीसंग वाचा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १९ जेठ ।

नेकपा एमालेको माधव नेपाल खेमाका प्रभावशाली नेताहरु पुरानै जिम्मेवारी पाए पार्टीमा फर्किन राजी भएका छन् । नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीअनुसारको जिम्मेवारी पाए आफूहरु पार्टीमा फर्किन तयार रहेको उनीहरुले बताएका छन् ।

पछिल्ला केही दिनयता एमालेका दुवैतर्फका दोस्रो तहका नेताहरु विवाद मिलाउन घनीभूत छलफलमा छन् । छलफलपछि सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले पार्टीका एकता जोगाउन सकिनेमा आशावादी देखिएको निकटस्थ कार्यकर्ताहरुलाई बताएका छन् । उनीहरुले फेसबुकमा पनि केही लचक टिप्पणी गरेका छन् ।

एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएपछि अध्यक्ष केपी शर्मा ओली पनि नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएका हुन् ।

सोमबार साँझ काठमाडौंको एक होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो। संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए। राति अबेरसम्म भएको बैठकले उनीहरूबीच पुरानो संरचना र पार्टीको वर्तमान अवस्थाबारे समेत छलफल भएको थियो ।

त्यसपछि ओलीले सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक मंगलबारलाई सारेका थिए। सोही अनुसार मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पनि जेठ १० गते स्पष्टीकरण सोधिएका नेतालाई थप कारबाही गर्ने विषयमा कुनै छलफल गरेन। बरु पार्टी एकताका लागि अधिकतम प्रयास र लचकता अपनाउने निर्णय बैठकमा भएको थियो।

जेठ १० गते बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र झलनाथ खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासनको निर्णय गरेको थियो भने अरु १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो।

पार्टीमा कुरा मिलेपछि सके माधव नेपाल पक्षधर सिंगै समूह, नभए घनश्याम, सुरेन्द्र, गोकर्ण लगायतका नेताले देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनेछन् । यसो भएमा विपक्षी गठबन्धन थप कमजोर बन्नेछ ।