उज्ज्वल थापाबारे रञ्जु दर्शना : उहाँ आफू पछि हटेर अरुलाई अघि बढाउने मान्छे हो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ जेठ ।

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको मंगलबार निधन भएको छ । कोरोना संक्रमणसँग जुधिरहेका थापाको आज दिउँसो मेडिसिटी अस्पतालमा निधन भएको हो ।

उनको निधनपछि यतिबेला उनका शुभचिन्तक स्तब्ध बनेका छन् । उनको निधनमा श्रद्धाञ्जली अर्पण भइरहेको छ ।

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले थापासँगै एक वर्ष नजिक रहेर काम गरिन् । आफूले एक वर्षको अवधिमा थापाको नजिक रहेर काम गर्दा थापाबाट इमानदारी पाठ सिकेको रञ्जु बताउँछिन् ।

उज्ज्वल थापाबारे रञ्जुको थप भनाइ

उहाँ एकदमै इमानदार, शालीन, जहिले पनि आफू पछाडि बसेर अरुलाई अगाडि बढाउन खोज्ने, एकदमै ‘इन्करेज’ गर्ने मान्छे हुनुहुन्थ्यो । मैले एक वर्षजति सबैभन्दा नजिक भएर काम गरेको थिएँ ।

उहाँमा कहिल्यै पनि केही कुराको लोभ–लालच भन्ने थिएन । केही शुभकामना दियो भने पनि ‘मेरो पनि तँलाई नै लागोस्’ भन्ने गर्नुहुन्थ्यो । उहाँसँगको बसाइबाट सधैँ नै स्मरणीय तथा केही नयाँ कुरा सिकिन्थ्यो । उहाँ धेरै कुराका लागि मार्गदर्शक नै बन्नुभयो ।

एकपटकको घटना हो । विराटनगर र झापामा पार्टीको कार्यक्रम थियो । हामीले चारजना नेताहरूको टिकट काटेका थियौँ । अरुले पार्टीको खर्चबाट जाने कि के गर्ने भन्दै हुनुहुन्थ्यो । उहाँले चाहिँ म त पार्टीको खर्चमा जान्नँ भनेर पैसा निकालेर अगाडि नै दिनुभयो । पार्टीको बैठकमै पैसा दिएर मेरो टिकटचाहिँ मेरै व्यक्तिगत पैसाबाट काट्नुपर्छ भन्नुभयो । जुन कुरा मैले कहिल्यै बिर्सिन सकेको छैन । त्यही दिनदेखि मैले उहाँको इमानदारी बुझ्दै आएको हुँ ।

एक वर्षजति एउटै पार्टीमा रहेर काम गरेँ । म साझा पार्टी र उहाँ विवेकशीलमा हुनुहुन्थ्यो । पार्टी एकता गर्ने कुरा भयो । एकता पनि गरियो । म साझाको विभागीय प्रमुख थिएँ । विवेकशील पार्टीको अफिसचाहिँ उहाँको आफ्नै घरमा थियो । त्यहाँबाट सामान साझा पार्टीको अफिसमा ल्याउनुपर्ने थियो । त्यही बेलाबाट म उहाँसँग नजिक भएँ । त्यो बेलाबाट म उहाँको आमा–बुबासँग पनि नजिक हुन पुगेको थिएँ ।

उहाँलाई जहिले पनि देशको बारेमा चिन्ता हुन्थ्यो । देश त पहिलेदेखि नै बिगारिएको हो । यसले बिगार्यो, उसले बिगार्यो भन्दा पनि बिगार्नेले बिगारिहाल्यो, अब हामीले स्वच्छ तरिकाले कसैको केही नबिगारीकन देश बनाउने हो भन्ने गर्नुहुन्थ्यो ।

बिग्रेका कुराहरूलाई आफ्नै कर्मले सुधार्ने हो । कुरा गरेर, गफ गरेर, भाषण गरेर यो कुराहरू सुध्रिँदैन भन्नुहुन्थ्यो । जहिले पनि कर्म गर्नुपर्छ भन्ने उहाँको थेगोजस्तै थियो । बाँचुन्जेल त्यही आदर्शमा बाँच्नुभयो । उहाँको जीवन मेरा लागि अत्यन्तै प्रेरणादायी छ ।