काठमाडौं, १८ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी क्रियाकलापको मतियार बनेको आरोप सहित जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव / बाबुराम भट्टराई पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कास गर्ने निर्णय गरेको छ ।
उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको जसपा कार्यकारिणी समितिको बैठकले महन्त ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्र नाथ सुक्ला र लक्ष्मण लाल कर्णलाई निष्कासन गर्ने निर्णय गरेको जसपा कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए।
आज मात्रै जसपाका यादव-भट्टराई समूहले अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई साधारणसदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गरेको छ । कारबाही गरेर पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ । ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ (१, २ र ३) बमोजिम हाम्रो दलको दर्ता किताबबाट नाम हटाइ अद्यावधिक गर्न अनुरोध गरिन्छ ’ अध्यक्ष यादवले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ । निर्वाचन आयोगमा उक्त पत्र दर्ता भइसकेको छ । दर्ता नम्बर १३४१ रहेको छ ।
जसपाभित्र तिब्र विवादकैबीच भट्टराईले केही दिनअघि हात मिलाएर आ-आफ्नो बाटो लाग्न सुझाव दिएका थिए । ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो’ भट्टराईले भनेका थिए ‘नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊँ ! हातमिलाएर आ-आफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेट हुनेछ !