काठमाडौं, १८ जेठ ।
नेपाल सरकार र थारू कल्याणकारी सभा, थरूहट/थारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिको पहिलो बुँदामा थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुन अनुसार पहल गरिने उल्लेख गरिएको छ ।
थरुहट/थारुवान आन्दोलका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, सहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मुल्यांकन गरी क्षतिपुर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ । महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई पनि काुननी दायरामा ल्याउने पनि सहमतिमा जनाइएको छ ।
त्यस्तै सहमतिको तेस्रो बुँदामा संविधानमा उल्लेखित व्यवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार राज्यका हरेक तह र तप्काहरुमा थारुहरुको आरक्षणको व्यवस्था तथा सबैखाले थारु समुदायको बारेमा संविधानअनुरुपको व्याख्या र व्यवस्था गर्ने उल्लेख छ ।
त्यस्तै, संविधानबमोजिम थारुभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्म शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था गर्ने पनि सहमतिपत्रमा उल्लेख छ । त्यस्तै कमैया, कमलरी संघर्ष समितिसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्ने पनि सहमति भएको छ ।
सहमतिमा नेपाल सरकारका तर्फबाट वार्ता टोलीका प्रमुख समेत रहेका कानुन न्याय संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ लगायत र थारु कल्याणकारी सभा, थारुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट रुकमिणी चौधरीलगायत छन् ।