खोप ल्याउने पहलका लागि राष्ट्रपतिको उच्च प्रसंशा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ जेठ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत बुधबार चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन संवाद गरेसँगै चीनले कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाललाई दिने घोषणा गर्यो । कोरोना महामारीले विश्व आक्रान्त भइरहेका बेला कोरोनाविरुद्धको खोप खरिद गर्दा समेत नपाइरहेको अवस्थामा राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षीसँग टेलिफोन सम्वाद गरेलगत्तै चिनियाँ राष्ट्रपतिले सहयोगस्वरूप खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि त्यो विषयले चर्चा पाएको छ। सो प्रतिवद्धताअनुसारको खोप आज नेपाल आइपुग्दैछ ।

जनतालाई कोरोना भाइरसबाट बचाउन कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्री र सरोकारवाला निकाय परराष्ट्र मन्त्रालयले मित्रराष्ट्र तथा छिमेकी मुलुकसँग कूटनीतिक पहल अघि बढाइरहेको बेला राष्ट्रपतिले थप पहलकदमी लिनुभएको हो । राष्ट्रपतिको यस कदमलाई नागरिकको मृत्युमा आफ्नो राजनीतिक भविश्य देख्ने एक दुई जना अति जान्ने नेताहरुबाहेक अधिकांशले सकारात्मक नतिजा पनि देखिएको भन्दै यो प्रयासको प्रशंसा गरेका छन । कोरोनाविरुद्धको खोप सहयोग गर्न राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीसँग कुरा गर्नुभन्दा पहिले नै भारतीय समकक्षीलाई पनि पत्र लेख्नुभएको थियो । यस्तै खोप उत्पादक मुलुक अमेरिका, रुस र बेलायतलाई पनि राष्ट्रपतिले खोप सहयोग गर्न आग्रह गर्दै पत्र लेखिसक्नु भएको छ ।

संकटका बेला नागरिकको जीवन सुरक्षाका लागि राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गरेको आम नागरिकको बुभाइ रहेको छ । ‘राष्ट्रपतिले अन्तर्राष्ट्रिय जगतसग खोपको लागि पहल गर्दा पनि आलोचना गर्नु भनेको चाहिँ चरम पुर्बाग्रहबाहेक अरु केही हो जस्तो लाग्दैन । यदि खोप ल्याएर कोरोना जोखिमबाट जनतालाई जोगाउनु पनि हस्तक्षेप हो भने यस्ता हस्तक्षेपहरु उहाँबाट भइ रहुन,’ बरिष्ठ पत्रकार बविता बस्नेतले आलोचना गर्नेको कडा प्रतिवाद गर्दै लेख्नुभएको छ । यस्तो धारणा राख्नेमा उहाँ मात्रै होइन, सामाजिक सञ्जालका प्रयोगकर्तामध्ये दुई तिहाई बढी नेपालीको मत यस्र्त देखिन्छ ।

राष्ट्पतिको कडा आलोचना गर्दै आएकाहरुले समेत यस बिषयमा उच्च प्रसंशा गरेका छन । बरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता बन्दना राणाले पनि राष्ट्रपति भण्डारीको यस पहलकदमीको खुलेर प्रशंसा गर्नुपर्ने बताउनु भएको छ । यो असमान्य परिस्थिति हो ! नेपालि नागरिकको ज्यान बच्ने जस्तो सुकै पहल सर्हानिय हुन्छ, राणाले लेख्नुभएको छ । अखिलकी पूर्व नेतृ तथा अधिबक्ता राधिका खतिवडाले पनि राष्ट्रपतिको कामको सह्राहना गर्नुभएको छ । जस्ले मागे पनि हुन्छ, जहाँबाट ल्याए पनि हुन्छ यो संकटको घडिमा हामी जनतालाई हाम्रो जीवन प्रिय छ तिम्रो राजनीति भन्दा…खोपमा राजनीति नगर्नाेस कृपया, खतिवडाले लेख्नुभएको छ । उहााहरु तीनै जनाको जवाफ पूर्वगृहमन्त्री भीम रावललाई रहेको छ । रावलले राष्ट्रपतिले खोप ल्याउन पहल गर्न नपाइने भन्दै आपत्तिजनक बिचार राख्नुभएको थियो ।

परराष्ट्र मन्त्रालयले मुलुकको राष्ट्रप्रमुखबाट पहल गर्दा त्यसले उच्च महतव र प्राथमिकता पाउने भएकाले राष्ट्रपतिमार्फत खोपका लागि पहल गरिएको जनाएको छ। ‘पहिलो कुरा त उहाँमार्फत पहल र प्रयास गर्दा सम्बन्धित मुलुकलाई अत्यन्त महतव दिएको सन्देश जान्छ, अर्को तर्फ उहाँले समकक्षीसँग खोपको आग्रह मात्र गर्नुभएको छैन, मन्त्रालयको भनाई छ ।