काठमाडौं, १७ जेठ ।
रिक्त रहेको राष्ट्रियसभा उपनिर्वाचनमा सत्तारुढ दल नेकपा एमालेलाई धक्का लागेको छ। बागमती र लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनमा सत्तारुढ पार्टी एमालेका आधिकारिक उम्मेदवारले हार बेहोरेका छन्।
विपक्षी गठबन्धनको वा गठबन्धनको समर्थनप्राप्त उम्मेदवारले मात्रै निर्वाचन जितेका छन्। सोमबार लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनमा दृगनारायण पाण्डे विजयी भए। उनले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे।
निर्वाचन आयोगका अनुसार विजयी भएका पाण्डेले ४ हजार १४० मत प्राप्त गरे। प्रतिद्वन्द्वी खड्काले ३ हजार ६१२ मत प्राप्त गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
विजयी भएका पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो। राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा कूल २ सय ९७ जना मतदाताले मतदान गरेका थिए।
यसअघि गत जेठ ६ गते बागमती प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा पनि गठबन्धनले समर्थन गरेको एमालेको माधवकुमार नेपालपक्षीय उम्मेदवार डा। खिमलाल देवकोटा विजयी भएका छन्।
उनले शनिबार मात्रै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई उनले पराजित गरेका थिए।
पार्टी परित्याग गर्दै एमाले जाँदा हार
राष्ट्रिय सभा सदस्यका पराजित दुवै उम्मेदवार पूर्वमाओवादी नेता हुन्। माओवादी केन्द्रबाटै उनीहरू राष्ट्रिय सभा सदस्य बनेका थिए। तर, २३ फागुनमा सर्वोच्च अदालतले नेकपालाई बदर गरेपछि उनीहरू एमालेमा गएका थिए।
एमालेमा गएपछि दल त्याग गरेको भन्दै दुवैलाई माओवादीले पदमुक्त गरेको हो। त्यसपछि निर्वाचन आयोगले रिक्त रहेको प्रदेशमा उपनिर्वाचन गरेको हो।
उपनिर्वाचनमा माओवादी परित्याग गरेका थापा र खड्कालाई नै एमालेले उम्मेदवार बनायो। अन्नतः निर्वाचन हुँदा दुवै जना पराजित हुन पुगे।
विपक्षी गठबन्धनमा रहेका दलहरू कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा समर्थित उम्मेदवारहरू विजयी भएका छन्।