जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुँदै, आठ मन्त्रालय दिने समझदारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ जेठ ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरपक्ष सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुनका लागि अन्तिम तयारीमा जुट्न जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग छलफल गरिरहेका छन् ।

जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल हुन लागेको हो । जसपालाई ८ मन्त्रालय दिने समझदारी तय भएको स्रोतको भनाइ छ ।

८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरी जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुने अन्तिम तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य गर्न लागेको हो ।

जसपाको कार्यकारिणी समितिमा पनि ठाकुर पक्ष बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको ठाकुर पक्षका नेताहरु बताउँछन् ।