महन्थ र राजेन्द्र बालुवाटारमा, आज-भोलि नै सरकारमा जाने तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ जेठ ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ‍प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषय छलफल गर्न उनीहरू बालुवाटार पुगेको बताइएको छ। अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ।

छफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी हुनेछन् । जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ । स्रोतका अनुसार ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरि जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैछ ।

नागरिकता अध्यादेश,मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।

अध्यक्ष ठाकुरनिकट जसपाका एक कार्यकारिणी सदस्यका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार गएका हुन्। ‘हामीले आठ मन्त्रीसहित २ राज्यमन्त्री मागेका छौं। कुरा लगभग मिलिसकेको छ,’ ती कार्यकारिणी सदस्यले भने,‘आज वा भोलिमा सरकारमा जान्छौं होला।’

कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई बहुमतमा पुग्न नदिने रणनीतिका साथ ठाकुर पक्ष सत्तामा सहभागी हुनबाट केही दिन रोकिएको बताइएको छ । आइतवारसम्म कार्यकारिणी समितिमा पनि ठाकुर बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको ठाकुर निकट नेताहरु बताउछन् । विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये ठाकुरको पक्षमा २० जना उभिएका छन् ।