मलेसिया : ‘ जुन १ देखि दुई साताको देशव्यापी लकडाउन घोषणा’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ जेठ ।

मलेसिया सरकारले जुन एकदेखि १३ सम्म देशव्यापी लकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शुक्रबार अबेर एक निर्देशन जारी गर्दै लकडाउनको घोषणा गरेको हो ।

मलेसियामा पछिल्लो पटक कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या वृुद्धि हुँदै गएको छ । समाचार संस्था एएनआईका अनुसार चौबीस घण्टामा थपिने सङ्क्रमित आठहजारको औसतमा दर्ता गरिएको छ । हाल ७० हजार कोरोना सङ्क्रमित बिरामी उपचारको क्रममा अस्पतालमा भर्ना छन् ।

प्रधानमन्त्री कार्यालयको वक्तब्य बमोजिम पहिलो चरणको लकडाउन दुई साताको हुनेछ । दोस्रो चरणमा चार साताको लागि थपिनेछ । यद्यपि सङ्क्रमित संख्या घट्दै गएको दोस्रो चरणमा खुकुलो अपनाइने बताइएको छ ।

पहिलो चरणमा अत्यावश्यकबाहेकका सबै ब्यापारिक प्रतिष्ठान र सङ्घ संस्था बन्द रहनेछन् । मलेसियामा हालसम्म पाँच लाख ४० हजार सङ्क्रमितको पुष्टि भएको छ । दुई हजार ४०० सङ्क्रमितले ज्यान गुमाएका छन् ।