गणतन्त्र नचाहेका एमालेका ३ नेता बारे वामदेवको यस्तो खुलासा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ जेठ ।

नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् । पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा तीनजना नेताहरु विपक्षमा उभिएको नेता गौतमले बताएका छन् ।

को थिए गणतन्त्रसँग असहमत ?

वामदेव गौतमले नाम नलिई एमालेका तीनजना नेता गणतन्त्रको विपक्षमा रहेको बताएकाछन । यस बारेमा अन्य एमाले नेताहरुसँग चासो राख्दा ।

वामदेव निकट एक नेताका अनुसार गौतमले ‘चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता’ भनेर केपी शर्मा ओली, सीपी मैनाली र राधाकृष्ण मैनालीलाई भन्न खोजेका हुन् ।

नेकपा एमालेले २०६२ साल साउनमा आयोजित बैठकबाट गणतन्त्रमा जाने औपचारिक निर्णय गरेको थियो । त्यतिबेला एमालेका राधाकृष्ण मैनाली एमाले छाडेर ज्ञानेन्द्रको मन्त्रिमण्डलमै सहभागी भइसकेका थिए । झापा आन्दोलनका अर्का अगुवा सीपी मैनालीले भने ०५६ सालअघि नै एमाले छाडेर माले पुनर्गठन गरिसकेका थिए । चर्चित झापा संघर्षका मुख्य नेता केपी ओली एकजना मात्रै एमालेमा बचेका थिए ।

एमालेको केन्द्रीय कमिटीमा तत्काल गणतन्त्रमा जाने संघर्षको नारा तय गर्नुपर्छ भन्ने प्रस्ताव राख्दाखेरि केपी ओलीले त्यसमा असहमति जनाएको तर नोट अफ डिसेन्टचाहिँ नलेखेको नेताहरु बताउँछन् । तर, त्यसबेला ओलीको निकट मानिने विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र मुकुन्द न्यौपानेले गणतन्त्रमा जाने प्रस्तावको विपक्षमा नोट अफ डिसेन्ट लेखेको एमालेका एक नेताले जानकारी दिए ।

सो बैठकमा अर्का नेता झलनाथ खनालले ‘पूर्ण लोकतन्त्र’ को प्रस्ताव गरेका थिए । तर, बैठकले त्यसलाई अस्वीकार गर्दै गणतन्त्रमा जाने निर्णय गरेको थियो । त्यसबेला महासचिव माधवकुमार नेपाललाई साहना प्रधान र वामदेव गौतम लगायतका नेताहरुले साथ दिएपछि गणतन्त्रको प्रस्ताव बहुमतबाट पारित भएको थियो ।

वामदेव गौतमले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिने जिम्मा माधव नेपालले ईश्वर पोखरेललाई दिएका थिए ।