मलेसियामा बसेर ब्यवसाय गर्दैआएका डेभिड गुण्डागर्दी अभियोगमा पक्राउ।

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १६ जेठ ।

मलेसियामा गुण्डागर्दी गरेको अभियोगमा व्यवसायी डेबिट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा मोरङ जिल्ला निवासी डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार मलेसियामा बसेर गुण्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षले जाहेरी दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
ब्युरोका डीआईजी सहकुल थापाका अनुसार डेबिडले १५ लाख रुपैयाँ फिरौती मागेको उजुरीमा उल्लेख गरिएको छ। श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान गरिने डिआइजी थापाले बताए।

साथै आज दिउँसो ०१:०० बजे पत्रकार सम्मेलन आयोजना गरेर डेबिड बारे थप कुराहरू सार्वजनिक गर्ने डिआईजी थापाले बताए।
डेभिडले मलेशियाको केलाङ क्षेत्रमा र क्वालालम्पुर क्षेत्रमा डान्सबार रेष्टुरेन्ट ब्यवसायी गर्दै आएका थिए।

यसरी भयो अपहरण :

प्रहरीका अनुसार श्रेष्ठ २२ वर्षदेखि मलेसिया बस्दै आएका छन्। उनको त्यहाँ रेष्टुरेन्ट छ। दाङका मोह्हमद रैदास उनकै रेष्टुरेन्टमा काम गर्थे। गत जुनमा उनले रैदासलाई आफ्ना चालकको कोठामा ६ दिन बन्धक बनाएर फिरौती मागेको खुलेको छ।

श्रेष्ठले रैदासकी श्रीमतीलाई ६० हजार रिंगेट रुपैयाँ फिरौती मागेका थिए। फिरौती रकम डिपोजिट गर्न श्रीमती दाङस्थित हिमालयन बैंकमा १२ लाख रुपैयाँ लिएर जुन २८ मा पुगेकी थिइन्। श्रेष्ठले उक्त बैंकमा रहेको आफ्नो खातामा रकम जम्मा गर्न भनेका थिए।सुरूमा १२ लाख रुपैयाँ मात्र डिपोजिट गर्नसक्ने जनाएर श्रीमती बैंक पुगेकी थिइन्।

के कामका लागि डिपोजिट गर्न लागेको भनी बैंकका कर्मचारीले सोधेका थिए। त्यसबेला उनले सबै कुरा भनिदिइन्। यसपछि हिमालयन बैंकको केन्द्रीय कार्यालयमा कुरा पुग्यो। केन्द्रीय कार्यालयले राष्ट्र बैंकलाई भन्यो। राष्ट्र बैंक हुँदै प्रहरीमा कुरा पुगे पनि श्रीमतीले जुन ३० मा अरू तीन लाख रुपैयाँ श्रेष्ठको खातामा जम्मा गरेकी थिइन्।

‘राष्ट्र बैंकले ब्युरोमा खबर गरेपछि अनुसन्धान सुरू भएको हो,’ ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले भने, ‘लकडाउन खुलेपछि श्रीमती काठमाडौं आएर जाहेरी दिएपछि हामीले पीडकलाई खोज्न थालेका हौं।’ श्रेष्ठको खाता बैंक र प्रहरीले निगरानी गरिरहेको थियो। नेपाल आएपछि पैसा निकालेपछि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थापाले बताए। मलाया खबर बाट साभार ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]