काठमाडौं, १५ जेठ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवपक्षले अर्का अध्यक्ष महन्थ ठाकुरपक्षका चार नेतालाई स्पष्टीकरण सोधेको छ ।
शनिबार यादवपक्षले २४ घन्टे अल्टिमेटमपत्र ठाकुर पक्षलाई पुनः पठाएको हो । यादव पक्षले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरणा साेधेकाे हाे ।
मंगलबार राति ठाकुर पक्षले यादवलाई पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनलाई किन सघाएको भन्दै स्पष्टीकरण सोधेपछि बुधबार यादव पक्षले केपी ओलीको प्रतिगमनमा किन साथ दिएको भन्दै ठाकुरसहित चार नेतालाई नौबुँदे स्पष्टीकरण सोधेको थियो ।
ओली नेतृत्वको सरकारलाई साथ दिने विषयलाई लिएर जसपाको आन्तरिक विवाद चुलिँदै आएको छ ।
यादवपक्ष नेपाली कांग्रेससँग मिलेर वैकल्पिक सरकार गठन गरी ओली नेतृत्वको सरकार ढाल्ने तयारीमा लागिरहँदा ठाकुरपक्ष भने ओली नेतृत्वकै वर्तमान सरकारलाई साथ दिएर मन्त्रिपरिषद्मा भाग खोजिरहेको छ ।
एकपक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्नुपर्ने स्थितिसँगै उत्पन्न पार्टीभित्रको विवादले जसपा फुट उन्मुख बनेको छ ।