गिरिजा, माधव र प्रचण्ड गणतन्त्रका लागि महानायक हुन्: वामदेव गाैतम

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ जेठ ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्रका महानायकको संज्ञा दिएका छन्। १४ औँ गणतन्त्र दिवशका अवसरमा एक सन्देश जारी गर्दै एमाले नेता गौतमले नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गर्ने पृष्ठभूमि तयार पार्ने युगान्तकारी संघर्षका महानायक कोइराला, नेपाल र दाहाल रहेको बताएका हुन्।

‘राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेता कार्यकर्ता तथा अन्य जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर वि. सं. २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ’, गौतमले भनेका छन्।

गाैतमले अब संघर्षको मुख्य नारा ‘राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना’ हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति भने आफू रहेकाे दाबी गरेका छन्। पार्टीमा उक्त प्रस्ताव राख्दा तीन जना एमाले नेताहरु भने विरुद्धमा उभिएकाे उनले बताएका छन्। यद्पि गाैतमले ती तीन जना नेताकाे नाम खुलाएका छैनन्। तर उनीहरु चर्चित झापा संघर्षबाट उदाएका नेताहरु रहेकाे उनले बताएका छन्।

‘बिडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ’, गाैतमले भनेका छन्।