प्रतिनिधिसभा पुनःस्थापना भएपनि बहुमत ओलीकै हुन्छः अध्यक्ष थापा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ जेठ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा पुनःस्थापना भएपनि पुनः केपी शर्मा ओलीकै बहुमत हुने बताउनुभएको छ । शुक्रबार साँझ सामाजिक सञ्जाल मार्फत अध्यक्ष थापाले माधवकुमार नेपालहरूको सांसद पद जाने र संसदमा पुनः एमालेकै नेतृवमा बहुमत हुने उल्लेख गर्नुभएको छ ।

उहाँले अहिलेको अवस्थामा छिटो भन्दा छिटो ओली हटाउने उपाय भनेको चुनाव नै रहेको बताउनुभएको छ । थापाले भन्नुभएको छ ‘ओली हटाउने सजिलो, छिटो र प्रजातान्त्रिक उपाय चुनाव छाडेर अदालत जानेहरूले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुन ओली नै प्रम हुन्छन्। यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ । संसद पुनर्स्थापना भएपछि एमालेको माधवर खनाल समुहका वागी सांसदहरू पदमुक्त हुनु अवश्यंभावि छ। त्यस अवस्थामा एमाले र महन्थ ठाकुर समुहको गठवन्धन संसदमा बहुमतमा रहने छ।’

अध्यक्ष थापाले अघि उल्लेख गर्नुभएको छ ‘चुनाव नै देशमा हाल विद्यमान संकट समाधानको उपयुक्त विकल्प हो भन्दा केपी ओलीको पक्ष लिएको अर्थ लगाईन्छ।तर,ओलीले देश वर्वाद पारे, संविधान र लोकतन्त्र समाप्त पारे भनेर चर्को विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा लागेका छन्।यस अघि पनि यस्तै भयो।अब पनि त्यहि हुन्छ।’ दैनिकी डटकमबाट सभार ।