गणतन्त्रलाई समाप्त पार्न खोजिएको वरिष्ठ नेता नेपालको आरोप

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ जेठ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले व्यवस्थामाथि खतरा उत्पन्न भएको बताएका छन् । गणतन्त्र दिवसका सन्दर्भमा शुभकामना दिँदै नेता नेपालले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान समेतमा गम्भीर खतरा उत्पन्न भएको औँल्याएका हुन् ।

“संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास, समानता र सामाजिक न्यायमा आधारित समाजको विकास र रुपान्तरण गणतन्त्रको प्रमुख उद्देश्य हो,” उनले भनेका छन्, “साथै जनताद्वारा निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य–मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानुनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न लाग्नु उनीहरुको दायित्व हो ।

तर, त्यस विपरित जननिर्वाचित संस्था प्रतिनिधि सभालाई हठात् रुपमा गलत मनशायका साथ पटक–पटक विघटन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोसिस भैरहेको त छैन भन्ने आशंका उत्पन्न भएको छ ।