काठमाडौं, १५ जेठ ।
झापा आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका एक सशक्त हस्ती चन्द्रप्रकाश मैनाली (सीपी) अहिले सानो घेरामा सीमित छन् । नेकपा माले हुँदा २०४२ सालसम्म मैनालीको जगजगी थियो । तर, उनी मालेका महासचिव नै भएका थिए ।
त्यसबेला अहिलेका केपी ओली सीपी मैनालीका कार्यकर्ता थिए । सीपी मैनालीले प्रतिपादन गरेको ‘जनताको नौलो जनवाद’ लाई परिमार्जित गर्दै मदन भण्डारीले पछि ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त तयार पारेका थिए ।
त्यसैले मैनालीलाई पाखा लगाउन मदन भण्डारी, झलनाथ खनाल, माधव नेपालहरू लागेका थिए । र, मैनालीलाई महासचिवबाट हटाएर झलनाथ खनाल महासचिव बनेका थिए । ०४७ सालमा माले र नेकपा माक्र्सवादी मिलेर एमाले बनेको थियो ।
त्यहीबेला मदन भण्डारी महासचिव बनेका हुन् । अहिले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली राजनीतिक, कानूनी र नैतिक रुपमा अप्ठेरोमा परेक छन् । तीन महिनाको बीचमा दुईपटक संसद् विघटन गरेपछि ओली एक्लिएका छन् ।
पहिलोपटक संसद् विघटन गर्दा ओली नेकपाका अध्यक्ष थिए, उनीसँग झन्डै दुई तिहाइ सांसद थिए । तर दोस्रो संसद् विघटनसम्म पुग्दा ओलीसँग ९३ सांसद मात्रै रहे।
पाँच दलले घोषित रुपमा विपक्षी गठबन्धन बनाएर ओलीको कदमविरुद्ध कानूनी र राजनीतिक संघर्ष सुरु गरेका छन् । उनीहरुले ओलीविरुद्धको गठबन्धन फराकिलो बनाउने रणनीति पनि लिएका छन् ।
आगामी निर्वाचनसम्म विपक्षी गठबन्धन सँगै जाने भएका छन् । यसले ओलीलाई निकै कमजोर मात्र होइन, एक्लो बनाउने एमालेकै नेताहरु बताउन थालेका छन् ।
पछिल्लो घटनाक्रमले ओलीको अवस्था सीपी मैनालीको जस्तै हुने प्रदीप नेपालको विश्लेषण छ । ‘केपी ओलीले आफूबाहेक अरुलाई चिन्नु पनि हुँदैन, वास्ता पनि गर्नुहुन्न । उहाँको स्वभाव अल्पमत हुँदा पनि निर्णय गर्ने हो, बहुमत हुँदा पनि निर्णय गर्ने हो । अहिले एक्लिँदै हुनुहुन्छ । उहाँको हालत पनि सीपी मैनालीको जस्तै हुन्छ,’ नेपालले बिहीबार एक पत्रिकामा टिप्पणी गर्दै भनेका छन् । नेता नेपालको विश्लेषणमा ओली सीपी मैनाली भाग–२ बन्ने बाटोमा हिँडेका छन् ।