जसपालाई दिने मन्त्रालयको टुङ्गो लाग्यो, कसलाई कुन हेर्नुहोस ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१५ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओली आज नै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी गराउने तयारीमा जुटेका छन् ।

जसपानिकट विश्वस्त सूत्रले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले जसपाको ठाकुर पक्षले उठाउँदै आएकाहरु एकपछि अर्को गरेर पूरा गर्दै गएकोले अब सरकारमा सहभागी हुनको लागि स्वयम जसपाका शीर्ष नेताहरु पनि तयार देखिएका छन् ।

सरकारको सिफारिशमा राष्टपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । उक्त अध्यादेशलाई ठाकुर महतो पक्षले स्वागत गरिसकेको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको कदमलाई जसपाको ठाकुर महतो पक्षले साथ दिँदै आएको छ । कतिसम्म भने ओलीलाई सघाउ पुर्याउनको लागि ठाकुर पक्ष तटस्थ बस्दै आएको छ ।

वैकल्पिक सरकारको नेतृत्व गर्ने अवसर पाउँदापनि ठाकुर त्यसको लागि तयार भएनन् । उनी ओलीसँग आफूहरुको सकारात्मक कुरा भएको भन्दै तटस्थ बस्ने बताउँदै आएका छन् ।

नागरिकतासम्बन्धी अध्यादेश आएपछि अब जसपाको ठाकुर पक्ष सरकारमा जाने बाटो खुलेको छ । प्रधानमन्त्री ओलीसँग ठाकुर र महतोले सत्ता सहकार्यको बारेमा गम्भीर छलफल गरेका छन्।

प्रधानमन्त्री ओली जसपालाई दश वटा मन्त्रालय दिन राजी भएका छन् । यसअघि पूर्व माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई अदालतले पदमुक्त गरेपछि ७ वटा मन्त्रालय ओली आँफैले राखेका छन् ।

ओली सरकारमा राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित सहभागी हुने चर्चा छ। उनीसँग राजकिशोर यादव, अनिल झा, शरदसिंह भण्डारी र चन्दा चौधरीलगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ ।

१० मन्त्रालय दिने तयारी

प्रधानमन्त्री केपी शर्मा ओली आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने भएपछि उक्त पक्षका नेताहरुलाई मन्त्रिपरिषद्मा ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले जसपाका ठाकुर–महतो पक्षले उठाउँदै आएका मागहरु सम्बोधन गर्न थालेपछि उक्त पक्ष सरकारमा सहभागी हुन लागेको हो । यसैका लागि सरकारको आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरिसकेको छ ।

नागरिकतासम्बन्धी अध्यादेश आएपछि अब जसपाको ठाकुर पक्ष सरकारमा जान लालायित भएको हो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई दश वटा मन्त्रालय दिने सहमति भएको छ ।

तर जसपाकै उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्ष पनि ओली सरकारको विरुद्धमा छ । ठाकुर महतो पक्षले ओलीलाई साथ दिए पनि यादव–भट्टराई पक्षले भने विपक्षी गठबन्धनलाई सघाइरहेको छ । वैकल्पिक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि जसपाभित्रको यो विभाजनका कारण पार्टी एकता नै धरापमा परेको छ ।

आइतबार मात्रै यादव–भट्टराई पक्षले ‘प्रतिगमनकारी ओली सरकार’मा आफ्नो पार्टीका कुनै पनि सदस्य सामेल नहुन चेतावनी दिएको छ । यदि सरकारमा सहभागी भएमा पार्टीबाट स्वतः निष्काशित हुने प्रष्ट गरिएको छ । पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ ।