काठमाडौं, १४ जेठ ।
कोरियामा एक नेपाली युवकले घाँटीमा पासो लगाई आफ्नो ज्यान फालेका छन् । रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाएका हुन् ।
रोजगारीको सिलसिलामा कोरिया गई विगत तीन वर्षदेखि त्यहाँ कार्यरत विष्णु किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत रहेका थिए ।
उनले आइतबार त्यहाँको स्थानीय समयानुसार साँझ ७ बजेसम्म घरमै कुरा गर्दै गरेको उनका सहकर्मीले बताएका छन् । उनीसहित तीन जना नेपाली कामदार रहेको उक्त गोरु फार्ममा आइतबार काम सकेपछि साँझ दुई साथी ‘इभिनिङ वाक’ का लागि निस्केका थिए ।
उनलाई पनि सँगै जान अनुरोध गरेको तर थकाइ लागेका कारण जान नमानेपछि श्रेष्ठलाई कोठामै छाडेर दुई साथी निस्केका थिए । उनीहरु फर्किएर आउँदा विष्णु कोठामा नै पासो लगाएको अवस्थामा भेटिएका थिए ।
घटनापछि नेपाली राजदूतावास सउल र मृतकका घरमा पनि खबर गरिएको जनाइएको छ । मृतककी श्रीमती, एक छोरी र बुबाआमा हुनुहुन्छ ।