वर्षमान पुनमाथि अक्सिजन सिलिन्डर व्यापारको आरोप, के हो वास्तविकता ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ जेठ ।

पूर्वमन्त्री वर्षमान पुनले रोल्पाका विभिन्न स्थानीय तहलाई आफ्नो कार्यकर्ता मार्फत सिलिन्डर बेचेको आरोप लागेको छ । सामाजिक सञ्जालमा वर्षमानले अक्सिजन सिलिन्डरको व्यापार गरेको प्रमाणसहित भनिएका धेरै सूचनाहरु बाहिरि आएको छ ।

माओवादी केन्द्रका नेता वर्षमानको सचिवालयले भने विना कमिशन ठेकेदारी मात्रै गरेको बताएका छन् । यसो त वर्षमानलाई लागेको आरोप आरोपमा मात्रै सिमित गर्ने अवस्था छैन । केही शंकास्पद गतिविधि त्यसमा संलग्न रहेको देख्न सकिन्छ ।

उक्त आरोपपछि रोल्पाका केही स्थानीय तह र वर्षमानको सचिवालयसँग सम्पर्क गर्दा वर्षमान र उनको सचिवालयकोे संलग्नता देखिएको छ । चीन सरकारले दिएको अक्सिजन वर्षमानले रोल्पाका विकट ठाउँ ठाउँमा विक्री गरिएको खबर बाहिर आएको छ ।

के तपाईहरुले अक्सिजन सिलिन्डर खरिद गर्नु भएको हो ? भन्ने हाम्रो प्रश्नमा सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुन ‘रक्तिम’ले स्थानीय तहहरुले अक्सिजन खरिद गरेको बताए । उनले आफ्नो गाउँपालिकालाई पनि प्रति सिलिण्डर २७ हजारमा खरिद गर्न आफर आएको स्विकारे । उनले आफ्नोमा तत्काल आवश्यक नरहेको भन्दै खरिद नगरेको बताए ।

यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले भने अक्सिजन खरिद गरेको बताए । वर्षमानको सचिवालयसँग सिलिन्डर खरिद गरेको भन्दै वर्षमानको बचाऊ गरेका उनले भने, ‘वर्षमान पुनज्यूले हामीलाई काठमाडौंबाट अक्सिजन सिलिन्डर किनेर रिफिल गरेर यहाँ ल्याएर बेचेको मात्रै हो । उहाँले नाफा खानु भएको छैन ।’

वर्षमानले चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर ल्याएर विक्रि नगरेको उनले दावी गरे । यता वर्षमानको सचिवालयले शुरुमा चीन सरकारले अनुदानमा दिएको अक्सिजनलाई रोल्पामा पनि केही पठाउनुपर्ने भन्दै नेता पुनले स्वास्थ्य मन्त्रीसँग अनुरोध गरेर वितरण गरेको बताइएको थियो ।

सामाजिक सञ्जालमा वर्षमानको अक्सिजन व्यापार भनेर आलोचना भएपछि मात्रै काठमाडौंको बिध् ल्यावबाट खरिद गरि रोल्पा लगेर स्थानीय तहलाई लाग्ने रकममा वितरण गरिएको स्पष्टिकरण दिएका छन् । झण्डै ८० वटा सिलिन्डर विक्री भएको स्थानीयको दावी रहेको छ । सचिवालय टिमकै अनुसार १३ हजार पर्ने अक्सिजनलाई रोल्पा पुराउँदा २७ हजार परेको बताइएको छ ।

५० केजी क्षमताको खालि सिलिन्डर प्रति बजार मूल्य करसहित १४ हजार रुपैयाँ छ । त्यसमा रिफिल गरेको ३ सय देखि ४ सय रुपैयाँ लाग्छ । सोही सिलिन्डरलाई रोल्पा पुराउँदा २७ हजार लागेको वर्षमानको सचिवालयले बताएका छन् । काठमाडौंमा रहेको भनिएको बिध् ल्यावसँग वर्षमान र सचिवालयको मिलमतो रहेको शंका पनि देखिन्छ ।

किनकि एक सिलण्डर रोल्पा पुराएको ढुवानी भाडा झण्डै १३ हजार नै परेको देखिन्छ । जबकी एउटा ट्रकमा ५० बढि सिलिन्डर रोल्पा पुराउन सकिन्छ । एउटा ट्रकलाई रोल्पा गएको ६ लाख रुपैयाँ ढूवानी भाडा त पक्कै पर्दैन । यस कारण पनि वर्षमानको पुनको संलग्नता कतै छ की भन्ने आममानिसलाई लाग्नु स्वभाविकै हो ।

जे होस् नेता वर्षमानले आफुलाई चुनावमा भोट हालेर जिताएर पठाएका आम जनतालाई अक्सिजन सिलिन्डर त दिन सकेन, ढुवानी खर्च समेत व्यहोर्न सकेन । त्यति मात्र हैन बजारमूल्य भन्दा दोब्बर मूल्यमा अक्सिजन सिलिन्डर रोल्पा पुराउने र वितरण गर्ने काम उनले गरे । यसबाट पक्कै रोल्पाका जनता निराश छन् नै ।

अक्सिजन सिलिन्डरकै कारण सामाजिक सञ्जालमा आलोचना भएका दुई नेता वनमन्त्री प्रेम आले र पूर्व मन्त्री वर्षमान पुनले एउटै ठाउँबाट अक्सिजन खरिद गरेका हुन् । काठमाडौंको बिध् ल्याबबाट अक्सिजन गरेको दुई जना नेताको खरिद मूल्य फरक फरक पर्न गएको छ । वनमन्त्री प्रेम आलेले प्रति सिलिन्डर १६ हजार रुपैयाँमा खरिद गरेको बिल सार्वजनिक भएको छ भने ।

नेता वर्षमान पुनले खरिद गरेको मूल्य प्रति सिलिन्डर २७ हजार भनिएको छ । त्यसमा ढुवानी खर्च जोडिएको छ । तर ढुवानी खर्च प्रति सिलिन्डर १४ हजार नपर्ने सबैलाई थाहै छ । यस कारण पनि वर्षमानको संलग्नता र उनको व्यापारमा हात छ कि भन्ने प्रश्न जिवित रहन्छ ।

वनमन्त्री आलेले आफ्नै लगानीमा अक्सिजन सिलिन्डर वितरण गरिएको थियो भने वर्षमान पुनले स्थानीय तहसँग बिलको रकम लिएका छन् । काठमाडौंबाट सिलिन्डर विक्री गर्ने बिध् ल्यावले पनि यसवारे स्पष्टिकरण दिएको भए सत्यता बाहिर आउने थियो । क्यानेडानेपालबाट