किन ओलीले एमालेभित्र अरुलाई प्रधानमन्त्रीमा सक्षम देखेनन् ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ जेठ ।

हरेक राजनीतिज्ञलाई सत्ताको मोह हुनु स्वभाविक नै हो । तर, सत्ताको लालसामा मुलुकको राजनीतिलाई अस्थिर बनाउनु भने स्वभाविक मान्न सकिँदैन । देश स्वास्थ्य संकटमा छ । नागरिक उपचार नपाएर मृत्युवरण गरिरहेका छन् । यस बेला राजनीतिक दलका नेताहरुले देखाएको सत्ताको खेलले जनतालाई निराश बनाएको छ । यस अवस्था आउनुमा प्रमुख राजनीतिक दलका शीर्षनेताहरु दोषी हुन् । संकटमा जनतासाथ नहुने राजनीतिज्ञहरुलाई कसरी जनप्रतिनिधिको रुपमा लिने ?

एमालेको नेपाल समूह, माओवादी केन्द्र र कांग्रेस सत्ता परिवर्तनको खेलमा लागेर मुलुकमा राजनीति अस्थिरता निम्त्याएको आरोप लगाउने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नै पार्टीको विवाद समाधान गर्न सकेनन् । जसले ओलीको नेतृत्वदायी क्षमतामा प्रश्न उब्जायो ।

मुलुकको राजनीति जहाँ र जस्तो अवस्थामा आइपुगेको छ । यस अवस्थामा आइपुुग्नुमा प्रधानमन्त्री र सत्तारुढ एमालेको अध्यक्षको हैसियतमा ओली बढी जिम्मेवार छन् । गत वैशाख २७ गते संसदबाट विश्वासको मत नपाएपछि पदमुक्त भए पनि कानुनी व्यवस्थाका कारण वैशाख ३१ गते पुनः प्रधानमन्त्रीमा ओली नियुक्त हुनुलाई स्वभाविक मान्न सकिन्छ ।

तर, अघिल्लो दिन आफूले विश्वासको मत पाउन सक्ने अवस्था नरहेको भन्दै निर्णय गरेर राष्ट्रपतिलाई पत्र लेखेका ओली त्यसको भोलिपल्ट स्वयं आफूलाई प्रधानमन्त्री बनाउन दाबी गर्न जानु कानुनी र राजनीतिक रुपमा स्वभाविक मानिएला, तर नैतिक रुपमा भने उचित होइन ।

किन ओली निर्विकल्प बने ?

प्रमुख विपक्षीसहित प्रतिपक्षी दल र स्वयं सत्तारुढ दल नेकपाको एक समूहले ओली सरकारको विकल्प खोजेका थिए । जस कारण मुलुकमा एक वर्षभन्दा बढी समयदेखि राजनीतिक खिचातानी भइरहेको छ । मुलुकमा राजनीतिक अस्थिरता आउन नदिन प्रधानमन्त्री ओलीले प्रभावकारी र नतिजामुखी भूमिका खेल्नुपर्ने थियो । यसका लागि सत्ता त्याग्न पनि राजी हुनुपर्ने हो ।

तर, ओली सत्ता बाहिर बस्न चाहेनन् । उनले एमालेभित्र प्रधानमन्त्रीको दाबेदारीमा अरु नेतालाई देखेनन्, या देखेर अवसर दिन चाहेनन् । अध्यक्ष ओलीले एमालेभित्रबाटै संविधानको धारा ७६(५)अनुसार सरकारका नेतृत्व खोजेर स्वयं ओलीमाथि लागेको सत्ता मोहको आरोप खण्डन हुने थियो भने अन्य नेताहरुले पनि अवसर पाउने थिए ।

तर, प्रधानमन्त्री ओलीले आफ्नो पार्टी वा समूहमा आफूूबाहेक अरुलाई प्रधानमन्त्रीमा समक्ष नदेख्नु साँच्चै सक्षम व्यक्ति नभएर हो वा आफू सरकारमा बसिरहन हो ?