पूर्वडीआईजी रमेश खरेलको अवस्था सुधारोन्मुख, आज आईसीयूबाट वार्डमा सारिने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ जेठ ।

कोरोना भाइरस संक्रमण भएपछि करिब तीन सातादेखि नेपाल प्रहरी अस्पतालमा उपचाररत पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलको स्वास्थ्यमा सुधार आएको छ।

भर्ना गर्दा पूर्वडीआईजी खरेलको अवस्था केही जटिल भए पनि अहिले धेरै सुधार भइसकेको प्रहरी अस्पतालका प्रवक्ता एसएसपी सञ्जयविक्रम श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिए।

अस्पतालका अनुसार भर्ना हुने बेला पूर्वडीआईजी खरेलको निमोनियाका कारण फोक्सोमा समस्या देखिएको थियो। अहिले भने अवस्था धेरै सुधार भएको छ। उनको अहिले पनि आईसीयूमा राखेर उपचार भइरहेको छ। यसअघि खरेललाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

अहिले उहाँलाई अक्सिजनको रिक्वारमेन्ट पनि कमी छ। सम्भवत आज साँझसम्म वार्डमा सार्छौ,’ श्रेष्ठले भने।

यही गतिमा स्वास्थयमा सुधार आएमा यसै साता उनको डिस्चार्ज हुने अस्पतालले जनाएको छ। ‘पहिलाको तुलनामा धेरै सुधार भइसकेको छ। यही गतिमा सुधार भए सम्भवत यही साता डिस्चार्ज गर्छौ,’ श्रेष्ठले भने ।